
अनुप पौडेल । केही दिन अघि कास्कीबाट दुई जना तिब्बती युवतीले नेपाली नागरिकता लिएको विषय चर्चामा रह्यो ।
पोखरा १८ का लेखबहादुर थापाले दुई तिब्बती युवतीलाई आफ्नो छोरी बनाई नागरिकता दिलाएका थिए । सरु थापा मगर र आङगो थापा मगरका नाममा गएको जेठ महीनामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दुई वटा नागरिकता जारी भएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले सबै प्रमाणको आधारमा नागरिकता दिएको स्पष्ट पारेका छन् । अहिले जिल्ला प्रशासन कार्यालय कास्कीले ती दुई वटै नागरिकता फिर्ता लिएर अनुसन्धान गरिरहेको छ ।
कार्यालयको गएको आर्थिक वर्षको वार्षिक कार्य सम्पादान विवरण सार्वजानिक गर्ने क्रममा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रजिअ बुढाले उनीहरुले जन्म दर्ता र शैक्षिक प्रमाण पत्रको आधारमा नागरिकता लिएको जानकारी दिए ।
छैन् तिब्बती शरणार्थीको विवरण
कास्की जिल्लाका विभिन्न तीन ठाउँमा तिब्बती शरणार्थीको ठूलै वस्ती छ । तर, प्रशासनसँग कास्की जिल्लामा अहिले कति शरणार्थी छन् भन्ने विवरण छैन् । जिल्लाको हेम्जा, छोरेपाटन र पृथ्वीचोकमा शरणार्थीको क्याम्प छ ।
झण्डै १७ वर्षअघि यी तीनवटा क्याम्पमा रहेका शरणार्थीको विवरण संकलन गरिएको थियो । त्यसैको आधारमा विसं २०५९ सालमा उनीहरुले परिचय पत्र पाएका थिए ।
त्यो बेला हेम्जाका ६ सय ४०, छोरेपाटनका ८ सय ९ र पृथ्वीचोकका २ सय ३७ गरी १६ सय ४६ जनालाई परिचय पत्र बाँडिएको थियो । गृहमन्त्रालयले त्यो बेला परिचय पत्र वितरण गरेपछि अहिले जिल्लामा कति तिब्बती शरणार्थी छन् भन्ने बारे केही तथ्यांक नभएको प्रजिअ बुढाले जानकारी दिए ।
‘त्यसबेला परिचय पत्र लिएकाहरु विदेश जान चाहे सिफारिस दिने गरिएको छ, उनले अघि भने, ‘गृहमन्त्रालयले शरणार्थीको परिचय दिएपछि हामीले केही गरेका छैनौं ।’
अहिले सिफारिससँगै प्रशासनले परिचय नविकरणको काम मात्र गरिरहेको छ । तर, शरणार्थीको संख्या घटबढ बारे कुनै विवरण भने छैन् । गएको वर्ष ४ सय ७० जना शरणार्थीले आफ्नो परिचय पत्र नविकरण गराएका उनले बताए ।
१० हजारलाई नागरिकता
कास्की जिल्लाबाट गएको आर्थिक वर्षमा १० हजार ८ सय ३० जनाले वंशजको आधारमा नागरिकता लिएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा कार्यालयबाट १२ हजार ७ सय ५६ जनाले वंशजको आधारमा नागरिकता लिएका थिए ।
यस्तै गएको आ.वमा कार्यालयबाट ६ हजार एक सय ५२ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ६ हजार पाँच सय ७७ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको थियो ।
जिल्लामा आ.व २०७५/०७६ मा ९ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएको प्रजिअ बुढाले जानकारी दिए । आ.व २०७४/०७५ मा २० जनाले यस्तो प्रकारको नागरिकता लिएका थिए । एक वर्षमा जिल्लाका १५ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
झन्डै साढे ७ हजारलाई राहदानी
जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ हजार ४ सय ५३ जनाले राहदानी लिएका छन् । प्रशासन कार्यालयको राहदानी शाखाबाट आ.व २०७४/०७५ मा आठ हजार सात सय ७० जनाले राहदानी लिएका थिए ।
गएको आर्थिक वर्षमा कार्यालयबाट ६ सय ७५ जनालाई राहदानी वितरण गरिएको छैन् । वितरण नहुनु भनेको कार्यालयमा बनेका राहदानी सम्बन्धित व्यक्ती लिन नजानु हो ।
राहदानी विभागमा सिफारिस बुझाउने मध्ये १९१ राहदानी अझै बन्न बाँकी छ । गएको वर्ष ८ हजार १ सय ९४ जनालाई राहदानी विभागमा सिफारिस गरिएको थियो ।
