
पोखरा । पोखरामा भदौ दोस्रो साता गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाल क्योकुसिन कान कराँते संघ कास्कीको आयोजनामा आगामी भदौ १३ र १४ गते प्रतियोगिता हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पोखरा रंगशालामा हुने प्रदेशस्तरीय पुरुष तथा महिला कराँते प्रतियोगितामा २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा तौल समूहको आधारमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ २५, ३०, ४०, ४५, ५० र ५५ केजीदेखि माथि ६० केजीमुनि तौल समूह र खुला तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक दीपकबहादुर गोदारले जानकारी दिए ।
महिलातर्फ ४० केजी, ४५ केजी मुनि तौल समूह र खुला तौल समूहमा प्रतिस्पर्धा हुने संयोजक गोदारले बताए । प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।
यस्तै प्रत्येक तौल समूहबाट एक-एक जनालाई उत्कृष्ट खेलाडी समेत घोषणा गरिनेछ । स्थानीयस्तरबाट खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता फलदायी हुने आयोजकको विश्वास छ।
