
पोखरा । आज साउन १५ अर्थात् खीर खाने दिन। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ।
हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि दुधमा बनेका परिकारहरु खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ।
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन्।
चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो । चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलबाट कार्बोहाइड्रेड र अन्य सामग्रीले भिटामिन र मिनरल्स प्रदान गर्छ । खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ। । त्यसैले खीर थोरै खाएर धेरै पोषण प्राप्त गर्ने परिकार हो ।
साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन् । साउन महिना झरी पर्र्नेे र गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतो जस्ता विभिन्न रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ । खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई पनि खुवाउन सकिन्छ।
