क्रिकेटर पृथ्वी ८ महिनाका लागि निलम्बित

Share:

भारतीय क्रिकेटर पृथ्वी श डोपिङ्गमा दोषी पाइएका छन् । उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ८ महिनाको प्रतिबन्ध लगाएको छ । पृथ्वीसँगै अरु दुई खेलाडीलाई पनि बिसिसिआईले निलम्बित गरेको छ ।

कफ सिरपमा पाइने एक प्रतिबन्धित पदार्थ पृथ्वीले अन्जानमा सेवन गरेको बिसिसिआईको बयानमा उल्लेख गरिएको छ । उनले गएको फेब्रुअरी २२ मा इन्दौरमा सैयद मुश्ताक अली ट्रफीको एक खेलमा एन्टी डोपिङ्ग जाँचका लागि आफ्नो पिसाबको नमूना दिएका थिए ।

परीक्षणको क्रममा सो नमूनामा टर्बुटालाइन पाइएको र यो अन्तर्राष्ट्रिय संस्था वाडाको प्रतिबन्धित पदार्थको सूचिमा पर्ने बिसिसिआईले उल्लेख गरेको छ । पृथ्वीले आरोप स्वीकार गरेको तर आफूले जानेर यो पदार्थ सेवन नगरेको बताएका छन् । उनले खोकी निको पार्नका लागि कफ सिरपका रुपमा सो पदार्थ सेवन गरेको बताएको बिसिसिआईले उल्लेख गरेको छ ।

बिसिसिआई पृथ्वीको जवाफबाट सन्तुष्ट भएको छ कि उनले सो पदार्थ स्वास्थ्यका लागि लिएका थिए न कि आफ्नो प्रदर्शन सुधारका लागि । तर कानून अनुसार उनलाई ८ महिनाका लागि निलम्बित गरिएको छ । मार्च १६ देखि लागु हुने गरी सुरु भएको निलम्बन आउँदो नोभेम्बर १५ मा समाप्त हुनेछ । यस्तै घरेलु क्रिकेटका खेलाडी अक्षय दुलारवर र दिव्य गजराजलाई पनि ८ महिनाका लागि निलम्बित गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: