
काठमाडौं । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ।
प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक पूर्व तयारीदेखि सांसदहरूलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ।
यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रसारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुलीलगायतमा हुने खर्चहरूको एकमुष्ट रकम हो।
बैठक बस्ने दिन मर्यादापालकलगायत सचिवालयका अन्य कर्मचारीहरू आधा घण्टाअघि देखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। बैठकका पूर्व तयारीदेखि सांसदहरूलाई उपलब्ध गराउने समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च भइरहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
बैठक अवरूद्ध हुँदा पनि सचिवालयको यो खर्चमा भने कमी आउँदैन। बैठक अवरूद्ध भए पनि सचिवालयले सांसदहरूलाई बैठक भत्ता बापत एक हजार र यातायात बापत १ हजार गरी प्रतिसांसद २ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने हुन्छ।
संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानीलगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए। बैठक अवरूद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रूपमा रहने गर्दछ।
दैनिकजसो बैठक अवरूद्ध हुँदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै जाने देखिन्छ।
