आजबाट गुँला पर्व सुरु

Share:

काठमाडौं। बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ। विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्बतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म हरेक बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा बिहारको परिक्रमा गरेर एक महिना मनाइन्छ।

विशेषगरी नेवार समुदायमा बौद्ध धर्मावलम्बीले शृङ्गभेरी अर्थात् सिंग बाजा फुकाउन लगाएर स्वयम्भू महाचैत्यको पूजा गर्छन् । काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, सायमी, उदाय र महर्जन समुदायका गुँला बाजा समूह, दिनहुँ बाजा गाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ । यस पर्वको मुख्य विशेषता न्याकुँ बाजा हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ। तर, पछिल्लो समय धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा लगयत विभिन्न मौलिक बाजागाजाहरु बजाएर चैत्यहरुका साथै स्थानीय ईष्टदेवता, गणेश, भिमसेन भैरवलगायतका देवीदेवताहरुको परिक्रमा गरी मनाइन्छ ।

भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगै विजयश्वरी र सेतो मत्स्येन्द्रनाथको पनि परिक्रमा गर्छन् । करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शनपछि विभिन्न बौद्ध मन्दिर तथा बिहार परिक्रमा गर्ने प्रचलन छ । यस पर्वभरी बौद्ध स्तोत्र, धारणी, नामसंगीति तथा सद्धधर्मग्रन्थ पाठ गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: