बैंककमा शृंखलाबद्ध विस्फोट

Share:

एजेन्सी – थाइल्यान्डको राजधानी बैंककमा शुक्रवार बिहान भएको शृंखलाबद्ध विस्फोटमा परी कम्तीमा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा घरेलु बम प्रयोग गरिएको प्रहरीको भनाइ छ ।

बैंककमा अहिले ठूलो सम्मेलन चलिरहेको छ र विस्फोटले त्यसलाई असर पारेको छ । देशका प्रधानमन्त्री प्रयुत चान ओचाले घटनाको अनुसन्धानको आदेश दिएका छन् । प्रधानमन्त्रीकी प्रवक्ताले जनतालाई नआत्तिन आग्रह गरेकी छन् ।

सुआन लुआङ जिल्लामा हाते बम विस्फोट हुँदा सडक सफा गर्ने दुईजना घाइते भएका हुन् । केही विस्फोटहरू एक सरकारी कार्यालय नजिक सुनिएका थिए भने अन्य विस्फोट सिटी सेन्टर नजिकका दुई ठाउँमा भएका थिए ।

दुई विस्फोट चाहिँ बीटीएस स्काईट्रेन चोङ नन्सी स्टेसन नजिक भएका थिए । विस्फोटका कारण शीशा फुटेर टुक्रा छरिएका थिए । विस्फोट स्थानीय समयअनुसार बिहान ७ बजे भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: