
पोखरा । सूर्यचन्द्र विकास समाज मालेपाटनको आयोजनामा सातौं खुल्ला तीजगीत तथा माविस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
आउँदो भदौ १३ गतेदखि १६ गतेसम्म तीज गीत तथा भलिबल प्रतियोगिता हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
लोकगीत र लोकसंस्कृतिलाई जगेर्ना गर्ने तथा निरन्तरता दिने, गीत र नृत्यबाट सामाजिक सन्देश प्रवाह गर्ने, खेलकुदमार्फत महिला स्वास्थ्यमा सुधार ल्याउने लगायतका उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष केदारप्रसाद कोइरालाले जानकारी दिए ।
भड्किलो तीजमुक्त क्षेत्र वडा नं ५ को घोषणालाई कार्यान्वयन गर्न यसले सहयोग पुग्ने विश्वास गरिएको छ । चार दिनसम्म चल्ने प्रतियोगिता पोखरा-५ मालेपाटनमा रहेको बाराही माविको खेल मैदानमा हुने उनले बताए ।
तीज गीत प्रतियोगितामा प्रथम हुनेले रु २० हजार ५, द्वितीय हुनेले रु १५ हजार ५ र तृतीय हुनेले रु १० हजार ५, उत्कृष्ट नृत्य तथा भेषभुषा हुने समूहले रु २५ सय ५ प्राप्त गर्ने प्रचारप्रसार संयोजक कृष्णप्रसाद बरालले जानकारी दिए ।
यस्तै, दर्शकमध्ये उत्कृष्ट नृत्य गर्ने २ जनाले विशेष उपहार पाउनेछन् । माविस्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने समूहले रु २० हजार र द्वितीय हुनेले रु १० हजार पुरस्कार पाउने संयोजक बरालले बताए ।
तीज गीतमा १८ र भलिबलमा १४ समूह सहभागि हुने अध्यक्ष कोइरालाले बताए । प्रतियोगिता सम्पन्न गर्न रु ७ लाख १५ हजार खर्च र ७ लाख ९९ हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ ।
