
बागलुङ- बागलुङको जिल्लाको एक गाउँपालिकाले भीर मह काड्दा अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ। जिल्लाको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट यस्तो व्यवस्था गरेको हो । यसबाट भीर महको अवैध चोरी निकासी रोकिने गाउँपालिकाको विश्वास छ ।
गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गर्छन । यस्तो पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकारमा कडाइ गरिएको हो।
सामुदायिक र सार्वजनिक स्थलमा हुने भीर महबाट निश्चित व्यक्तिले फाइदा लिने र लापरवाही गरेर मह काड्दा भीर मौरीसमेत लोप हुने अवस्था आएका कारण यसलाई संरक्षणका लागिसमेत सहयोग पुग्ने हुनाले अनुमतिको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले बताए।
नयाँ व्यवस्थाले वडा र गाउँपालिकाको राजश्वमा समेत वृद्धि भएर जाने अनुमान छ। गाउँपालिकाले मह शिकारका लागि निश्चित कार्यविधि निर्माण गरेर अनुमति दिने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए।
गाउँपालिकाका रणसिंह, शिसाखानी, ग्वालीचौर, दर्लिङ, भिमगिठेका भीर मौरीका लागि उपयुक्त ठाउँ मानिन्छ। मुख्य व्यक्तिले सुरक्षा वेल्टसमेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गरिने हुँदा दुर्घटनाको उच्च जोखिम रहेको छ।
गाउँपालिका भीर महको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरी निर्यात गर्ने योजना रहेको छ।
