(नयाँ जीवन) : उनी कसरी बिन्दिया बनिन् ?

Share:

अनिष भट्टराई । बिग एफएमको चर्चित कार्यक्रम हो, ‘नयाँ जीवन’ । रेडियो कार्यक्रम ‘नयाँ जीवन’मा हामीले समाजका केही फरक र विशेष व्यक्तिहरुलाई निम्त्याउने गर्छौँ । हामीले त्यस्ता व्यक्तिहरुलाई बोलाउँछौँ, जो साँच्चै फरक अनि नयाँ जीवन जिईरहेका छन् । जसको अनुभवले केही गर्ने र गर्न खोज्ने युवापुस्तालाई गतिलो मार्गदर्शन देओस् । साप्ताहिक रुपमा हुने यो कार्यक्रममा हामीले यो पटक तेस्रो लिंगी बिन्दिया गौतमलाई डाकेका थियौँ । र, उनीसँग कुराकानी गरेका थियौँ । बिनोद देखि बिन्दियासम्मको उनको यात्रा र उनले पाएको नयाँ जीवनको विषयमा हाम्रा सहकर्मी रोजिना थापाले उनीसँग गरेको अन्तरंग कुराकानीको सम्पादित अंश :

बिनोद देखि बिन्दियासम्मको यात्रा

७ कक्षा पढ्दासम्म बिनोद नै थिएँ । सानो छँदासम्म म केटा हुँ वा केटी ? यो प्रश्न दिमागमा पनि खासै चल्दैनथ्यो ।

यद्यपि सानैदेखि मलाई आमाका विभिन्न पहिरनहरुले विशेष आकर्षित गथ्र्यो । साथीहरु पनि केटी नै धेरै बनाउँथे । तै पनि सानो छँदासम्म यसले खास विशेष अर्थ पनि राख्दैनथ्यो । आफूलाई पनि म को हुँ ? भन्ने खास ज्ञान हुँदैनथ्यो । पढाईमा पनि म अब्बल नै थिएँ । कक्षामा सँधै प्रथम हुन्थेँ ।

७ कक्षामा आईसकेपछि भने अब बिस्तारै मलाई सबैले गिज्याउन थालेका थिए । र, मेरो मनमा पनि म केटी नै हुँ भन्ने हुन्थ्यो । केटीहरु नै बढि साथी हुन्थे, बनाउँथे । म केटा हुँ भन्ने मनमा कहिल्यैँ लाग्दैनथ्यो । यद्यपि म केटा नै थिएँ, बाहिरी आवरणमा ।

तर मनमा म कहिल्यैँ केटा हुँ भन्ने लागेन । म केटीकै पहिरन लगाउन रुचाउँथे । अनि मलाई सबैले ‘छक्का’ भनेर जिस्क्याउँथे । पीर पथ्र्यो । कतिपय अवस्थामा रुन्थे पनि । तर अहँ ? मलाई सबैले होच्याएर बोल्न छाडेनन् । खुब पीर पथ्र्यो । ‘केटीको जस्तो मन भएर के भो त ? म पनि मान्छे त हुँ नी ।’ मनमा कुरा खेल्थ्यो । एक्लै टोलाउँथे । मन जहिल्यै अशान्त हुन्थ्यो । यही कारणले मेरो पढाई बिग्रियो । तै पनि मेरो पीर बुझिदिनेवाला कोही थिएनन् ।

पछि १० कक्षा पास गरिसके पछि मैले साप्ताहिकमा सुनिलबाबु पन्तको अन्तरबार्ता हेरेँ । र, मैले त्यही अन्तवार्ताबाट म पनि समलिङ्गी पुरुष रहेछु भनेर थाहा पाएँ । पछि मैले धेरै पटक प्रयास गरेपछि सुनिलबाबु पन्तको नम्बर खोजेर मैले उहाँलाई सम्पर्क गरेँ । उहाँले मलाई आफ्नो कार्यालयमा बोलाउनुभयो र म उहाँको कार्यालयमा गएर आफूलाई बुझ्ने मौका पाएँ ।

यो सन् २००५ को कुरा हो । त्यसको एक बर्षपछि कसरी बोल्ने, कसरी अरुलाई फकाउने भन्ने कुराको तालिम लिएर पोखरा आएँ । पोखरा आईसकेपछि मैले गणेश र राजु भन्ने साथी भेटेँ । उनीहरु पनि मेरै नियती भोगेर बसेका थिए । जिएका थिए । त्यसपछि हामी मिलेर २००६ मा नौलो बिहानी पोखरा नामक संस्था खोल्यौं । यस संस्था मार्फत काम गर्दै जाँदा हामीले २०१० मा हामीले महिला समलिङ्गीको लागि परिवर्तन नेपाल नामक संस्था खोल्यौं । अहिले परिवर्तन नेपाल संस्था मानव अधिकारको लागि काम गर्छ र नौलो बिहानी पोखरा संस्था अहिले एचआइभी ‘प्रिभेन्सन’को काम गरिरहेको छ ।

आफूलाई पहिचान गर्नुहोस् र कन्भिन्स गर्नुहोस्

मैले २००७ मा पोखरामा भएको एउटा सौन्दर्य प्रतियोगितामा भाग लिएको थिएँ । र, सबैले मलाई त्यति बेला पनि जिस्क्याउँथे । ‘केटा भएर पनि केटीको प्रतियोगितामा किन भाग लिएको होला ?’ त्यो बेला खुब चर्चा हुन्थ्यो । म त्यो प्रतियोगितामा फस्ट रनर अप भएको थिएँ ।

जीवनमा शारिरीक पीडा त त्यति पाईएन । तर मानसिक पीडाको बोझ थामिनसक्नुको हुन्थ्यो । समाजले त भन्ने नै भयो, घरबाट पनि केटीको रुपमा बाहिर निस्कन पाउँदैनथिएँ । अचानक केटीको रुपमा बाहिर आउँदा घरबाटै मलाई समस्या आएको थियो । यतिसम्म की कुनै बेला मेरै बुवाआमा पनि म सँग बोल्न खोज्नुहुदैनथ्यो । एकातिर समाजले लाउने विभिन्न लाञ्छना र त्यसैमाथि घरपरिवारबाट पनि तिरस्कृत हुनुपरेपछि मनमा अनेकन कुराहरु खेल्थे । तै पनि मैले हिम्मत हारिन ।

पछि मैले मेरा बुवा आमालाई पनि सम्झाएँ । समलिङ्गिको क्षेत्रमा रहेर विभिन्न सामाजिक क्रियाकलापमा व्यस्त हुँदै गएँ । समाजमा आफूलाई यही रुपमै स्थापित गरेर देखाएपछि भने घरपरिवारले पनि साथ दिन थाल्नुभयो । अहिले मलाई मेरो परिवारको साथ छ । र, म खुशी छु ।

पहिचानमा समस्या :

लिङ्ग पहिचानमा पनि पछिल्लो समय निकै समस्या आएको छ । धेरै साथीहरु लहलहैमा आउनुहुन्छ । लामो कपाल भएका र मसिनो स्वर भएका साथीहरु पनि म पनि तेस्रो लिङ्गी हुँ भन्दै आउनुहुन्छ ,तर त्यस्तो हुँदैन । यस्तो सोँचले अरुलाई नराम्रो असर गर्न सक्छ ।

यदि आफूलाई बुझ्न सक्नुभएन भने आफ्नो साथीलाई भन्नुहोस् वा तपाइँहरु इन्टरनेटमा पनि हेर्न सक्नुहुन्छ । हाम्रो कार्यालयमा पनि तपाइँहरु आउन सक्नहुन्छ अथवा तपाइँहरुले हामीलाई फोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ । तपाइँहरुलाई हामी उचित मार्गदर्शन गर्नेछौं । आफूले आफूलाई चिन्न नसक्दा पनि धेरैले दुख पाईरहेका हुन्छन् ।

अरुको लहलहैमा लागेर आफुलाई तेस्रो लिङ्गी हुँ भन्नु हुँदैन र अरुले पनि कसैलाई ‘तँ केटा भएर पनि कस्तो केटी जस्ती छेस्’ भनेर भनिदिनुहुदैन ।

आफूलाई पहिचान गर्न सजिलो भएन भने हामीले तपाईलाई यसमा सहयोग गर्छौँ । जे जस्तो भएपनि आफ्नो अस्तित्वलाई स्विकार्नुपर्छ । धेरैले यसलाई अप्राकृतिक भन्छन् । तर त्यस्तो होईन । यो प्राकृतिक कुरा हो । त्यसैले आफ्नो पहिचान दिन कहिल्यै डराउनु हुँदैन ।

यद्यपि कतिपय साथीहरु भने सहज रुपमा जागिर पाईन्छ भन्ने लोभमा पनि आफू तेस्रो लिङ्गी भएको दाबी गर्छन् । त्यस्तो कुरालाई बरु हामीले बहिष्कार गर्छौँ ।

सरकारले पनि जागिरको सवालमा तेस्रो लिङ्गीलाई कोटा छुट्याउने गरेकोले केही साथीहरुले त्यही लाभ लिनका लागि पनि आफूलाई हुँदै नभएको तेस्रो लिङ्गी बनाउँछन् । यो कुराले वास्तविक तेस्रो लिङ्गीहरुलाई समस्यामा पारेको छ ।

व्यवसायिक यौनकर्म र विवाह

तेस्रो लिङ्गीको रुपमा समाजमा आईसकेपछि घरपरिवारबाटै बहिष्किृत हुनुपर्छ । जागिर पाउन गाह«ो हुने भएकोले उनीहरु बाध्य भएर आफूलाई यौनधन्दामा समाहित गराउँछन् । यही बाध्यताले कतिपय तेस्रो लिङ्गी साथीहरु एचआइभी एड्स जस्ता प्राणघातक रोगको संक्रमणबाट संक्रमित भएका छन् । त्यसैले तेस्रो लिङ्गीहरुको अधिकारका लागि हामी लागेका छौँ । सरकारसँग कोटाको माग गरेका छौँ । सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्छ तब मात्र यौन धन्दामा लाग्नुपर्ने बाध्यता हट्न सक्छ ।

सरकारले केवल हामीलाई नागरिकता मात्र दिने काम गरेको छ र त्यही नागरिकता दिन पनि गाह्रो मान्नुहुन्छ । समलिङ्गी बिवाह पनि गर्न पाउने नियम छैन । यसले गर्दा हाम्रा समुदायका केही साथीहरुलाई गाह्रो परेको छ । समलिङ्गी बिवाह पनि गर्न पाउने नियम ल्याइदिए पनि राम्रै हुन्थ्यो ।

म हामी तेस्रो लिङ्गी साथीहरुलाई हाम्रो सम्पर्कमा आउन आह्वान गर्छु । आउनुहोस् हामी तपाईहरुलाई आत्मनिर्भर हुने तालिम समेत दिन्छौैं । हामी मानवअधिकार एवम्ं एचआइभी एड्स जस्ता प्राणघातक रोगका बारेमा पनि शिक्षा दिन्छौं र इच्छा अनुसार बिभिन्न सीपमूलक तालिम पनि दिन्छौं । तपाइँहरु ढृढ इच्छाशक्तिका साथ आउनुहोस् हामी तपाइँहरुको सहयोगका लागि हरपल तयार छौं ।

कमेन्ट गर्नुहोस्
Share: