भोजपुरमा बस दुर्घटना, १० घाइते, एकको अवस्था गम्भीर

292
0
Share:

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरको लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

मे१ख ३१६४ नम्बरको बस आज विहान मध्यपहाडी लोकमार्गअन्तर्गत गुप्तेश्वर र सिद्धेश्वर सिमाना चप्पिरे खोलानजिकै घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खसेको हो ।

घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्वु रहेको प्रहरीको भनाइ छ । लिम्वुको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा भोजपुर नपा ३ बस्ने २२ वर्षीया संगीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्वु, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीया गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटना पश्चात चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: