
रञ्जन अधिकारी पोखरा, १ कात्तिक / पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरा र पोखरा उपमहानगरपालिकाको संयोजनमा सञ्चालित साप्ताहिक सरसफाई अभियानको शनिबार अन्तिम दिन फेवातालमा बृहत सरसफाई गरिएको छ । गत आईतबार देखि पोखरामा एक हप्ते सफाई अभियान सुरु भएको थियो । फेवा ड्यामबाट सुरु भएको सरसफाई ड्यामसाईडदेखी खपौंदीसम्मै गरिएको हो ।
सरसफाईबाट फेवातालमा रहेको जलकुम्भि मध्ये ६० प्रतिशत निकालिएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले जानकारी दिए । एकै पटक यति ठूलो सरसफाई कार्यक्रम भएको यो पहिलो पटक हो । तीन वटै सुरक्षा निकाय, विभिन्न सामाजिक संघसंस्था, राजनीतिक पार्टी, नागरिक समाज लगायतको बाक्लो उपस्थिति रहेकोसरसफाई कार्यक्रममा फोहोर संकलनको लागि यातायात व्यवसायीले ट्रक, ट्रिपर पठाएर सहयोग गरेका थिए । सरसफाई पछि प्रधानमन्त्रीका प्रशासकिय सल्लाहकार बाबुराम आचार्यले सरसफाई अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।
क्षेत्रीय प्रशासक थपलियाले तीन वर्ष भित्र फेवातालमा कुनै फोहोर छैन भन्ने बनाउने अभियानका साथ अघि बढेको जनाउँदै २०६८ सालमा सरकारले गठन गरेको उच्चस्तरीय आयोगको सुझाव बमोजिम कार्य गर्ने बताए । ‘अतिक्रमण भएका स्थान कहाँ कति छन् भन्नेबारेमा अध्ययन हुनेछ । ढल कहाँबाट मिसिएको छ भन्ने बारेमा गहन अध्ययन गरिनेछ ।’ उनले भने । फेवाताल मात्र नभई पोखरामा रहेका सार्वजनिक स्थल लगायत सम्पूर्ण शहरलाई सफा सुन्दर राख्नको लागि नगरपालिकाको नेतृत्वमा एउटा संयन्त्र निर्माण गरि सरसफाई अभियानलाई जारी उनको भनाई छ । थपलियाले भने– ‘एक महिनाभित्र फेवातालको समग्र व्यवस्थापन हेर्ने गरी ताल नजिकै कार्यालय स्थापना गरिनेछ । निरन्तर सरफाईको निरीक्षण गर्ने सुपरभाईजर खटाईनेछ ।’
फेवाताल सरसफाई प्रारम्भ मात्र भएको बताउँदै उनले यसलाई निरन्तरता दिइने बताए । थपलियाले फेवातालको सरसफाई अभियानलाई फेवातालको मुख्य मुहान हर्पन खोला सम्म लगेर फेवाताललाई जलकुम्भि रहित बनाउने बताए ।
सोही अवसरमा नेपाली भारतीय भू.पू सैनिक कल्याणकारी समितिले पनि शनिबार फेवाताल सरसफाई गरेको अध्यक्ष सुबेदार मनबहादुर गुरुङले जानकारी दिएका छन् ।

