
गोरखा – गोरखाको बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । गोरखा नगरपालिका–१० टक्कसारस्थित सो विद्यालयका भान्छे ५० वर्षीय श्यामहरि घिमिरे मृत भेटिएका हुन् ।
सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको हो । हरेक दिन विद्यालयको काम सकेर साँझ घर फर्कने गरेका घिमिरे घर नफर्किएपछि परिवारले खोजी गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीका अनुसार विद्यालयमा सोधीखोजी गर्दा बेलुकी खाना खाएर घर गएको भन्ने जानकारी पाएपछि घर जाने बाटो हुँदै खोज्दै जाँदा सडकमा चप्पल र उनले बोकेको प्लाष्टिकको झोला देखिएको थियो ।
त्यसपछि प्रहरी पुगेर जङ्गलतर्फ खोजी गर्दा सडकदेखि करीब १०० मिटर तल मृतावस्थामा शव फेला परेका हुन् । घिमिरेले बोकेको प्लाष्टिकको झोला, झोलामा रहेका टर्चलाइटलगायतका सामान र एउटा चप्पल भने सडकको किनारामा भेटिएको र मृतकको शव भने झाँडीमा फेला परेको हो ।
मृतक घिमिरे उक्त विद्यालयमा कार्यालय सहायकको रुपमा १८ वर्षदेखि काम गर्दै आएका थिए । उनको टाउको र घुँडामा गम्भीर चोट भेटिएको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए। । हत्या हो वा होइन भन्नेबारे अहिले पुष्टि भइनसकेको उनले बताए ।
