
पोखरा । जिल्ला नापी कार्यालय कास्कीले मोबाइल एपबाटै कार्यालयको सेवा बारे जानकारी दिन सुरु गरेको छ । सूचना प्रविधिको प्रयोग गरी सेवालाई प्रविधिमैत्री बनाउँदै मोबाइल एपबाटै सेवाको जानकारी र सोको प्राप्तिको प्रक्रियाका बारेमा सेवाग्राहीलाई जानकारी दिन शुरु गरिएको कार्यालय प्रमुख इञ्जिनीयर खिमलाल गौतमले जानकारी दिए ।
देशका ७७ जिल्ला नापी कार्यालयमध्येमा पहिलोपटक मोबाइल एपमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरुआत गरिएको उनको भनाई छ । यसबाट लामो तथा झन्झटिलो प्रक्रियाले गर्दा विचौलियाको शरणमा पर्नुपर्ने सेवाग्राहीको बाध्यता हट्ने विश्वास लिइएको छ ।
गौतमका अनुसार ‘नापी पोखरा एप्स’ को माध्यमबाट सेवाग्राहीले आफ्नो मोबाइलबाट आफूले चाहेको सेवा घरमा बसेर सम्बन्धित फाँटवाला कर्मचारीको समय लिएर प्राप्त गर्न सक्नेछन् ।
सेवा लिँदा आइपर्ने समस्याका बारेमा कार्यालय प्रमुखलाई एपबाट सिधै जानकारी गराउन सक्नेछन् । कुनै ठाउँमा नाप नक्सा भइरहेको जानकारी, पुर्जा वितरणसम्बन्धी सूचनालगायतका महत्वपूर्ण सूचना तथा जानकारीसमेत सर्वसाधारणले एप्लिकेशनबाट प्राप्त गर्न सक्नेछन् ।
सो एपबाट सेवाग्राहीले कित्ताकाट, हाल साबिक भिडाउने, नक्सा प्रिन्ट तथा ट्रेस उतार, फिल्डबुक उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल, कित्ता एकीकरणलगायत कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।

