
अनुप पौडेल, पोखरा । गएको वर्ष जेठ २ गते पोखराको वडा नम्बर-१२ को कार्यालयमा चोरी भयो । त्यहाँबाट सुरु भएको वडा कार्यालय चोरी त्यतीमा मात्र सीमित रहेन । एकपछि अर्को गर्दै गएको साउन २१ गतेसम्म ११ वटा वडामा चोरीका घटना भए ।
१४ महिना अगाडिबाट सुरु भएको शृंखलाबद्ध चोरीको घटना प्रहरीले अनुसन्धान थालेपनि रोकिएन । महानगरकै वडा कार्यालय असुरक्षित रहेको र प्रहरीले चोर पक्रन नसकेको भन्दै आलोचना भइरह्यो। अन्तत: कास्की प्रहरीले १४ महिनापछि चोर पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-११ घर भई पोखरामा डेरा गरेर बस्दै आएका ५१ वर्षीय किशोर थापालाई वडा प्रहरी कार्यालय बैदामको विशेष टोलीले आइतबार समातेको हो । उनलाई पोखराकै सहिद चोकबाट पक्राउ गरिएको हो ।
चोरी गर्न उनी एक्लै पुग्थे । थापाले पोखराको वडा नम्बर ५, ६, १२, १३, १४, १५, १६, १९, २५, २९, ३१ गरी ११ वटा वडा कार्यालयमा चोरी गरेका थिए । चोरी गर्ने थापासँगै चोरीको सामान किनबेच गर्ने काठमाडौंका ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पनि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
गोपालीको कलंकीमा कम्प्युटर पसल रहेको र त्यहाँ चोरीको सामान किनबेच हुने गरेको अनुसन्धानबाट खुलेको छ । दुवै जनालाई कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
प्रहरीले पक्राउ गरेपछि सोधपुछ गर्दा थापाले आफूले नै चोरी गर्ने गरेको स्वीकारे । र, त्यसपछि प्रहरीको एक वर्षदेखिको टाउको दुखाई कम भयो । प्रहरी पोखरा-१० कालिकाचोकमा रहेको उनको डेरासम्म पुग्यो ।
डेरामा उनले चोरी गर्दा प्रयोग गर्ने सामान फेला पर्यो । उनको डेराबाट प्रहरीले एक थान ल्यापटप, एक थान क्यामरा, फलामको रड, स्क्रुड्राईभर, पंजा र लागूऔषध ब्राउनसुगर २.३६ ग्राम बरामद गरेको छ । उनीमाथि अहिले चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी कार्कीले बताए।
पक्राउ परेका थापा यसअघि पनि दुई पटक चोरी मुद्दामा जेल परेका थिए । छुटेपछि उनले फेरी चोरी गर्न सुरु गरेका हुन् । यातायातको सहज सुविधा भएका वडामा उनले चोरी गर्ने गरेको प्रहरीको भनाइ छ ।
डाका चोरी मुद्धामा उनले केन्द्रिय कारागरामा ५ वर्ष (२०४६-२०५१ सम्म) जेल जीवन बिताएका थिए । यस्तै पछिल्लो पटक सोही मुद्दामा थापाले केन्द्रिय कारागारमा नै ३ वर्ष सजाय (२०७१-२०७४ सम्म) जेल जीवन बिताएको एसपी कार्कीले जानकारी दिए ।
पोखरामा चोरी काठमाडौंमा किनबेच
प्रहरीका अनुसार ५१ वर्षीय थापा मध्येरातमा वडा कार्यालयमा चोरी गर्न पुग्थे । उनको नजर वडा कार्यालयको कम्प्युटरमा हुन्थ्यो । चोरी गरेपछि त्यहाँ आसपास बन्दै गरेका संरचनामा रात बिताउँथे र बिहानै चोरी गरेको सामानसहित काठमाडौंतर्फ लाग्थे ।
थापाले ११ वटै वडामा रातको साढे ११ बजेदेखि साढे १२ बजेको समयमा चोरी गरेका छन् । एसपी कार्कीले भने,‘चोरी गरेपछि नजिकै निर्माणाधीन भवनमा लुकाएर राख्ने रहेछन्, त्यसपछि समय हेरेर काठमाडौं लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।’
काठमाडौं पुगेपछि उनले चोरीको सामान गोपालीको कलंकीमा रहेको पसलसम्म पुर्याउँथे । गोपालीको पसलमा पुगेको प्रहरी टोलीले चोरीको मनिटर १७ थान, सीपीयू ९ थान र ल्यापटप ३ थान बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।
याे पनि – पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा एक वर्षपछि पक्राउ

