
पोखरा । पवित्रताको प्रतिज्ञा र नकारात्मकताबाट रक्षाको पर्व रक्षाबन्धनको उपलक्ष्यमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका सबै शाखा एवं उपशाखाहरुमा विविध कार्यक्रमहरुसहित रक्षाबन्धन कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले विकारहरुबाट रक्षा गर्न परमात्माको शरणमा आउनुपर्ने र सोही मार्गको प्रतीकको रुपमा यस रक्षाबन्धन पर्व मनाइने गरेको तथ्य उल्लेख गर्दैै यस पर्वको शुभकामना व्यक्त गरेका थिए ।
सो कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मनोहर खनाल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरे, वरिष्ठ प्रहरी उपरीक्षक पूजा सिंह, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बूढा, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, समाजसेवी शुक्रराज शर्मा, शोवियत बहाद्र अधिकारी, गणेश बहादुर श्रेष्ठ, सुशिल गोशली लगायत नगरका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुले रक्षासूत्र ग्रहण गरेका थिए ।

त्यस्तै संस्थाका पार्दी, रामबजार, प्रस्याङ, लेकसाइड लगायतका शाखा एवं उपशाखाहरुमा माननीय उपसभामुख सृजना शर्मा, माननीय सांसदहरु रामजी बराल, विन्दुकुमार थापा र राजिब पहारी, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द श्रेष्ठ, श्रीकृष्ण प्रणामी मन्दिरका साहित्याचार्य श्री जनार्दन शास्त्रीजी महाराज, वरिष्ठ पत्रकार रमेश पौडेल, जिल्ला अनुसन्धान अधिकृत भूमि पाठक लगायत विभिन्न वडाका अध्यक्षहरु, चिकित्सकहरु, बुद्धिजीविहरु, सञ्चारकर्मीहरु, उद्योगपतिहरु एवं विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले रक्षासूत्र ग्रहण गरेका थिए ।

साथै रक्षाबन्धन पर्वको अवसरमा मणिपाल अस्पताल, गण्डकी अस्पताल, लामापाटन प्रहरी तालिम केन्द्र, मानव सेवा आश्रम, कास्की कारागार लगायतका स्थानमा गई चिकित्सकहरु, बिरामीहरु र कैदीहरुलाई समेत रक्षासूत्र ग्रहण गराइएको थियो । रक्षाबन्धनको अवसरमा आयोजित यस कार्यक्रममा पोखराका विभिन्न शाखामा गरी करीब ३० हजार भन्दा बढीले रक्षासूत्र ग्रहण गरेको ब्रह्माक्मारी ईश्वरीय विश्व विद्यालयले जनाएको छ ।
