बिग न्युज पोखरा, ३ कात्तिक / सिचाई मन्त्री नारायण प्रसाद साउदले नयाँ संविधानमा तमु जातिको पहिचानको सम्मान हुने बताएका छन् । तमु प्ये ल्हु संघ २५ वर्ष प्रवेशको अवसरमा पोखरामा सोमवार आयोजित रजत महोत्सवकोे उद्घाटन गर्दै मन्त्री साउदले तमु जातिको योगदानबाटै विश्वमा नेपाली राष्ट्रिय पहिचान स्थापित भएको बताए ।
पोखरा ११ रानीपौवा शक्तिघाट स्थित संघको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री साउदले सेती नदि कटानबाट जोखिममा परेको तमु प्ये ल्हु संघ लगायतको संरक्षणका लागि नेपाल सरकारले विनियोजन गरेको ४० लाख रुपैयामा रकम थप गर्ने आश्वासन दिए ।
कार्यक्रममा पुर्व मन्त्री इन्द्रबहादुर तमुले तमु जातिको पहिचान र अधिकार सुनिश्चित गर्न कार्यक्रमका प्रमुख अतिथि मन्त्री साउद र सभासदहरुलाई आग्रह गरे । आफुहरुले तमु राज्य होइन, तमु जातिको पहिचान खोजेको प्रष्ट पार्दै उनले माघ ८ गते नयाँ संविधान बन्न सक्ने सम्भावना आफूले नदेखेको बताए । ‘पहिचान सहितको संघीयता स्थापित गर्न आदिवासी जनजातिहरु आन्दोलित हुनुपर्छ, आन्दोलन विना अधिकार प्राप्त हुदैन’ उनले भने । उनले सेती नदि कटानको समस्या समाधानका लागि नेपाल सरकारले तत्काल लगानी गर्नुपर्ने बताए ।
काँग्रेसकी सभासद सारदा पौडेलले तमु जातिको मौलिक संस्कार सँस्कृति जगेर्ना र अधिकार सुनिश्चित गर्नका लागि आफु जुटिरहेको बताईन् । बुद्ध जन्मेको देशमा शान्ति कायम गर्न सबैले समान अधिकार पाउनुपर्ने भन्दै उनले आफुहरुकै पहलबाट सेती नदि तटबन्धका लागि ४० लाख रुपैया बिनियोजन हुनसकेको दावी गरिन् ।
तमु प्ये ल्हु संघ नेपालका अध्यक्ष क्याप्टेन रुपबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पुर्व सभापति नवराज गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय सदस्य आईबहादुर तमु, तमु ह्युला छोंज धि गुरुङ राष्ट्रिय परिषदका महासचिव धनमान तमु लगायतले बोलेका थिए ।
कार्यक्रममा १०१ बर्षिय सेते पाल्चे तमु र १०० वर्षीय योरुँ टु तमु संघका संस्थापकहरु संस्थापक अध्यक्ष जंगबहादुर ल्हेगेसहित सदस्यहरु प्रमुख अतिथि मन्त्री साउद र तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष क्या. तमुले सम्मानपत्र र भाङ्ग्राद्वारा सम्मान गरिएको थियो । यसरी नै रजत महोत्सव स्मारिका प्रमुख अतिथि मन्त्री एनपी साउद, संघका संस्थापक अध्यक्ष जंगबहादुर तमु र वर्तमान अध्यक्ष क्या.रुपबहादुर गरब्ज तमुले विमोचन गरेका थिए । यस अघि क्ल्हेप्री गुरु १०० वर्षिय योरुँ टु तमु र पच्यु चिवा कुलप्रसाद क्रोम्छैले मलाँ(शुभाषिक) प्रदान गरेका थिए ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष हितकाजी तमुले स्वागत र सञ्चालन महासचिव पमबहादुर क्रोम्छे, सचिवहरु शान्ति तमु र ओमबहादुर थिम्चेले कार्यक्रम सञ्चालन गरेका थिए भने तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति, आमा समिति, तमु प्ये ल्हु संघ बुटवल, क्होला दीप तमु समाज, क्होला ट्हो धिंका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए ।
उद्घाटन अघि पोखरासभागृहबाट झाँकीसहित शुरु भएको र्याली न्युरोड, बिपीचोक, महेन्द्रपुल, भिमसेनचोक, रानीपौवा हुदै तमु प्ये ल्हु संघमा पुगी सभामा परिणत भएको थियो ।
तस्विर: हुम तमु

