
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि पनि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् ।
राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताए ।
नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे । कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले केही गर्न नसकिए इतिहासले धिकार्ने बताए ।
अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष दाहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको बताए ।
