पोखराका विद्यालयमा राजनीतिक पार्टीको संगठन खोले कारबाही गरिने

Share:

पोखरा – पोखरामा रहेका विद्यालयमा कुनै पनि राजनीतिक पार्टीको संगठन खोले पोखरा महानगरपालिकाले कारबाही गर्ने भएको छ ।

पोखरा महनगरपालिकाको बालबालिका घोषणा पत्र २०७६ को ५ नम्बर बुँदामा कुनै पनि विद्यालयमा राजनीतिक पार्टीको भातृ संस्था खोले कारबाही गर्ने उल्लेख गरिएको छ । महानगर बाल मञ्च, पोखराको आयोजनामा शनिबार पोखरामा आयोजित ‘बालबालिका बहस’ कार्यक्रमको दोस्रो सत्रमा सो १० बुँदे घोषणा पत्रमा सार्वजनिक गरिएको थियो ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६९ मा लिईएका उदेश्य र बालबालिका सम्बन्धि ऐन, २०७५ को परिच्छेद-८ को धारा ६६ को उपधारा २ `६´ मा राजनीतिक प्रयोजनका लागि संगठित गर्ने गरेमा बालबालिका विरुद्ध हिंसा गरेको मानिन्छ । यी विषय उल्लेख भएकाले यस विपरीत विद्यालयमा बालबालिकालाई प्रयोग गरेर गठन गरिएको पाइए त्यसलाई खारेज गरिने भएको छ ।

महानगर भित्रका विद्यालयमा यस्तो भएको पाइए त्यस्ता संगठनलाई महानगरको शिक्षा महाशाखासँग समन्वय गरी विद्यालयमा परिपत्र गरेर विद्यमान कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने सो बुँदामा उल्लेख छ ।

गएको साउन ४ गते आयोजित ‘बालबालिका बहस’ को पहिलो सत्रमा बाल मञ्चकै प्रस्ताव बमोजिम पोखरा घोषणा पत्र जारी गर्न बाल मञ्च सम्बन्धित सरोकारवाला र महानगरका प्रतिनिधि सम्मिलित मस्यौदा समिति पनि गठन भएको थियो।

बाल मञ्चकी अध्यक्ष एलिना श्रेष्ठको संयोजकत्वमा गठन भएको समितीको अन्य सदस्यमा महानगरको तर्फबाट सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, कार्यपालिका सदस्यद्वय मित्रलाल बराल र यसोदा भटृराई तथा सरोकारवालाको तर्फबाट बाल मञ्चका प्रवक्ता आरोग्य मोहन काफ्ले, पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बाल श्रम न्यूनिकरण कार्यक्रमकी संयोजक प्रिति पाण्डे र बाल हितकारी परियोजना नेपालकी कार्यक्रम संयोजक निमा गुरुङ रहेका थिए। सोही समितिले यो घोषणा पत्रलाई अन्तिम रुप दिएको हो ।

अनिश्चित बन्दै ‘बालमैत्री पाेखरा’ (अडियो)

पोखरालाई चुनौती बन्दै सडक र श्रमिक बालबालिका

सक्रिय बन्दै महानगर बाल मञ्च, सकियो ‘बालबालिका बहस’ को पहिलो शृङ्खला

कमेन्ट गर्नुहोस्
Share: