
पोखरा । नेपालीहरुको महान चाड बडा दसैँको अवसर पारेर पोखरामा असोज १० गतेदेखि सेभेन ए साइड क्लबस्तरीय खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नं-१४ स्थित मेरो नेपाल युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने भएको हो । सहभागी हुने टोलीका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ ।
प्रतियोगिताको तयारी स्वरुप शनिबार डाकिएको वडास्तरीय बृहत भेलाले मुल आयोजक समिति, विशेष समिति लगायतका विभिन्न १३ वटा उपसमितिहरु गठन गरेको छ । विशेष समितिमा क्लब अध्यक्ष दिवस कुँवर, कार्यक्रम संयोजक एकेन्द्र कुँवरसहित अमरप्रसाद ढुंगाना, बोधराज बराल, बटुकृष्ण कुँवर, मथुराप्रसाद पौडेल, किरण पौडेल र महेश कार्की चयन भएका छन् ।
भेलाले अर्थ समितिमा विकास कार्की, प्रचार विभागमा पृथ्वी कुुँवर, मञ्च व्यवस्थापनमा नवीनराज बराल, कार्यक्रम तयारीमा कमलराज ढुंगाना, टिम व्यवस्थापनमा महेन्द्र कुँवर, स्वयंसेवक परिचालनमा ज्ञानबहादुर सिके, मैदान व्यवस्थापनमा हरि थापा, प्राथमिक उपचारमा सरिता थापा, सत्कारमा अशोक खाती, जलपान तथा यातयातमा रामचन्द्र नेपाली, संघसंस्था परिचालनमा सविना क्षेत्री, सांस्कृतिक कार्यक्रम तयारीमा तनुजा थापालाई संयोजक चयन गरेको छ ।
अन्य सबै उपसमितिहरुका संयोजक र सदस्यहरूसमेत चयन भएको क्लबका अध्यक्ष कुँवरले जानकारी दिए । प्रतियोगिताको विजेताले रु १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले रु. ७५ हजार ५ सय ५५ र बाँकी दुई सेमीफाइनल पुग्ने टिमले जनही रु.१०/१० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताबाट बचत हुने रकमले स्थानीय क्षेत्रमा सामुदायिक व्यायामशाला निर्माण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
