गण्डकी प्रदेशमा करिब ८९ प्रतिशत रोपाईं, देशभर ५ प्रतिशत खेत बाँझै

Share:

काठमाडौं । भदौ लाग्दासम्म गण्डकी प्रदेशमा करिब ८९ प्रतिशत रोपाईं भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बालीविकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म प्रदेशमा ८८.९२ प्रतिशत रोपाईं भएको छ ।

देशभर ९४.४३ प्रतिशत धान खेतमा रोपाईं भएको छ । सरकारी तथ्यांकका अनुसार ५ प्रतिशत खेत अझै बाँझो छ । गत आर्थिक वर्षमा ९५.३९ प्रतिशत क्षेत्रमा रोपाईं भएकोमा यो वर्ष भन्दा झण्डै १ प्रतिशत कम हो । । यो वर्ष सबैभन्दा कम धान खेती हुने कर्णाली प्रदेशमा भने सबै खेतमा रोपाईं भएको छ ।

प्रदेश १ मा ९३.४९ प्रतिशत, प्रदेश २ मा ९३.३१, प्रदेश ३ मा ९६.९५ प्रतिशत रोपाईं भएको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै प्रदेश ५ मा ९४.३९ प्रतिशत र सुदूरपश्चिममा ९६.१६ प्रतिशत रोपाई‌ं भएको केन्द्रले जनाएको छ ।

भौगोलिक अवस्था अनुसार उच्च पहाडमा रोपाईदर अघिल्लो वर्ष भन्दा बढेको छ । यो भेगमा गत वर्ष ९६.४४ प्रतिशत रोपाई भएको थियो । तर यस वर्ष ९७.९३ प्रतिशत रोपाई सकिएको छ । यस्तै मध्य पहाडमा गत वर्ष भन्दा ३ प्रतिशत खेतमा रोपाईं घटेको छ ।

गत वर्ष ९४.१६ प्रतिशत रोपाईं भएको मध्य पहाडमा यस वर्ष यो अवधिमा ९१.९५ प्रतिशत मात्रै रोपाईं भएको छ । तराईमा यस वर्ष गत वर्षकै हाराहारीमा रोपाईं भएको केन्द्रको तथ्यांक छ । गत वर्ष ९५.३९ प्रतिशत रोपाई भएको तराईमा यस वर्ष ९५.१३ प्रतिशत रोपाईं सकिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: