
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाईटीको आयोजनामा भदौ ६ गते शुक्रबार गाईजात्रा कार्यक्रम हुने भएको छ । प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रम अन्तर्गत पोखराको सभागृहमा साँझ ४ बजेबाट शुरु हुने आयोजकले जनाएको छ ।
गाईजात्रा विशेष कार्यक्रममा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, (मुलाको साग) शिव शंकर रिजाल (जोगिन्दर) सुवोध गौतम, यमन श्रेष्ठ, सन्ध्या बुढा (काउली बुढी) लगायतका कलाकारको प्रस्तुति रहने पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक बोधराज रेग्मीले जानकारी दिए ।
पोखरामा गाईजात्रा कार्यक्रम नभएको लामो समय भयो । लायन्स क्लब अफ पोखरा पिस सोसाईटीले मुलुकका चर्चित हाँस्य कलाकार निम्त्याएर कार्यक्रमको संयोजन गर्नु सम्पूर्ण गण्डकी प्रदेशवासीहरुको लागि गौरव र मनोरञ्जनको अवसर भएको आयोजकको ठम्याई छ ।
साथै कार्यक्रमबाट आएको आम्दानीले विभिन्न सामाजिक तथा सांस्कृतिक क्षेत्रमा कार्य गर्न सोच क्लबले बनाएको र सरकारले ल्याएको पर्यटन वर्ष २०२० सफल बनाउन समेत केही टेवा पुग्ने अपेक्षा रहेको कार्यक्रम संयोजक शैलेन्द्र कर्माचार्यले बताए । कार्यक्रममा प्रवेश शुल्क १ हजार र ५ सय रुपैंया तोकिएको छ ।

