
काठमाडौं– काठमाडौंको नयाँ बसपार्कस्थित महानगरीय ट्राफिक प्रहरी बिटका ३ जना ट्राफिक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेका ट्राफिक प्रहरी जवानहरुविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नयाँ बसपार्कस्थित ट्राफिक बिटमा कार्यरत प्रहरी जवान देबेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी, देवेन्द्र थापा र हिटलर साउद सेवाग्राहीसँग लिएको १ लाख घुससहित पक्राउ परेका थिए ।
अख्तियारका अनुसार उनीहरुले सवारी दुर्घटनाको प्रहरी रिपोर्ट बनाइदिने बहानामा १ लाख रुपैयाँ घुस लिएका थिए । अनुसन्धानका क्रममा प्रहरी जवानहरु देवेन्द्र बलायर, हिटल साउद र लोकेन्द्र थापाले घुस लिएको पुष्टि भएकाले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
