
पोखरा । ‘जहाँ सञ्चार, त्यहाँ विकास’ भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि (रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजनामा हुने तीज गीत प्रतियोगिताको तयारी तीव्र पारिएको छ। यसवर्ष समृद्धिका लागि पर्यटन, पर्यटनमा महिलासम्बन्धी विषयवस्तु छनौट गरिएको छ ।
यस वर्ष गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो ।स्थापनाकालदेखि निरन्तर गर्दै आएको सफलता तीज गीत प्रतियोगीताको नवौं संस्करण आउँदो भाद्र १४ गते (शनिबार) रेडियोको प्राङ्गण मासबारमा हुनेछ ।
वर्षेनी मौलिक संस्कृति लोकलयमा आधारित समय सान्दर्भिक विषयवस्तुमा केन्द्रित प्रतियोगीता आयोजना गर्दै आएकोमा यसवर्ष समृद्धिका लागि पर्यटन, पर्यटनमा महिलालाई जोड दिइएको रेडियोका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले जानकारी दिइन् ।
सन् २०१९ लाई गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्षको रुपमा मनाइरहेको र नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा रेडियोले कार्यक्रमलाई साथ दिन लागेको निर्देशक गोविन्द कोइरालाले जानकारी दिए ।
सङ्घीयताको नयाँ अभ्यासबाट प्रदेशको समृद्धिका लागि शुरु गरिएको भ्रमण वर्ष सफल बनाउन रेडियोले समृद्धिका लागि पर्यटन, पर्यटनमा महिलासम्बन्धि विषयवस्तु छनौट गरेको प्रतियोगिता संयोजक पार्वता पौडेलको तर्क छ ।
मौलिक संस्कृति लोकलयमा आधारित तीजे भाकामा गीतको माध्यमबाट आफ्नो ठाउँको बारेमा प्रचार-प्रसार गरी आन्तरिक पर्यटकीय गन्तव्यमा पर्यटनको माहौल सिर्जना गर्न तथा पर्यटक प्रवर्धनमा पनि उत्तिकै सहयोग पुग्ने संयोजक पौडेलको दाबी छ ।
तीज गीतको माध्यमबाट आम नागरिकमा छिटो सन्देश पुग्ने हुनाले अहिलेको तीजमा पर्यटन सम्बन्धि विषयवस्तुलाई जोडिएको रेडियोका कार्यक्रम संयोजक मधु अधिकारी जानकारी दिए।
१ दिने कार्यक्रममा प्रथम पुरस्कार नगद रु. २० हजार, द्वितीय पुरस्कार रु १५ हजार, तृतिय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु ५ हजार रहेको छ । उत्कृष्ट भेषभुषा, नृत्य र अनुशासनलाई रु २/२ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले प्रतियोगिताका लागि टिम दर्ता भइरहेको छ ।
File Photo
