यस्तो छ ‘पोखरा मिडिया कप’को तयारी, विवादरहित बनाउनेतर्फ आयोजकको चासो

Share:

बिग न्यूज
पोखरा, ६ भदौ । बिग एफएमको प्रस्तुतीमा हुन लागेको ‘पोखरा मिडिया कप’ फुटसल प्रतियोगिताको तयारीलाई आयोजक जक्शन डटकम र सिक्स्टिन प्रोडक्शनले तीव्र पारेको छ ।

भदौको १० र ११ गते दुई दिनसम्म चल्ने मिडिया कप फुटसल प्रतियोगितामा सहभागिताका लागि आयोजकले सम्पूर्ण मिडिया हाउसहरुलाई आह्वान समेत गरेको छ ।

यो बीचमा थुप्रै मिडिया हाउसहरुले प्रतियोगिताका लागि टिम दर्ता गरिसकेको आयोजकले बताएको छ । साथै उसले प्रतियोगिता अवधीमा कुनै पनि खालको विवाद नहोस् भनेर आफूहरु सचेत रहेको बताएको छ ।

यही बीचमा आयोजकले प्रतियोगितालाई विवादरहित बनाउने उद्देश्यसहित ६ सदस्यीय छनौट तथा अनुशासन समिति गठन गरेको छ । यो समितिमा नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, श्यामशुक्ला फिल्म प्रोडक्शनका संचालक घनश्याम लामिछाने, अग्रज फोटापत्रकार सुदर्शन रञ्जित, फुटबल खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’ र आयोजकको तर्फबाट अरुण गिरी पदेन सदस्य रहेका छन् ।

समिति गठन भएसँगै प्रतियोगिताका केही नियमहरु समेत संसोधन गरिएको आयोजकले बताएको छ । ‘मिडियाका साथीहरुको बढि भन्दा बढि सहभागिता रहोस् भन्ने हेतुले हामीले यसअघिका केही शर्तबन्देजहरुलाई संसोधन गरेका छौँ । र, यसले सहभागीहरुलाई अझै बढि सजिलो हुने हामीले ठानेका छौँ ।’ खेल सँयोजक अरुण गिरीले भने ।

संसोधित नियमअनुसार छापा संचारमाध्यमहरुले पत्रिका वितरकहरुलाई समेत खेलमा सहभागी गराउन सक्नेछन् । सँगसँगै हरेक संचारमाध्यमका बजार व्यवस्थापनमा संलग्न कर्मचारीले पनि सहभागिता जनाउन सक्नेछन् । यद्यपि वितरकको हकमा दुई जना र मार्केटिङको हकमा १ जना मात्र एउटा टिममा सहभागी गराउन पाईने आयोजकले बताएको छ ।

त्यससँगै छानविन तथा अनुगमन समितिले आयोजकलाई फुटसल प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण टिमको दर्ता ७ गतेभित्र गरिसक्न सुझाएको छ । ‘टिम दर्ता भैसकेपछि पनि छानविन समितिले केही अनुगमन गर्नेछ । यद्यपि यी सबै प्रकृया खेलको क्रममा विवाद नआओस् भन्नकै लागि हो ।’ छानविन समितिका सदस्य तथा फुटबल खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’ले भने–‘यति गर्दा पनि केही गुनासो भएको खण्डमा ९ गतेसम्म हरेक समूहले छानविन समिति सामु निवेदन पेश गर्न सक्नेछन् ।’

फुटसल प्रतियोगिताको विजेता समूहले ३५ हजार रुपैयाँसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै दोस्रोले २० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीेले रु ५ हजार, गोल रक्षकले ३ हजार, अनुशासित टिमले ५ हजार र सर्वाधिक गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बिग एफएमको प्रस्तुतीमा ‘पोखरा मिडिया कप फुटसल प्रतियोगिता’ हुन लागेको हो । प्रतियोगिताको पावर्ड बाइ टाइटलमा एम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज् र एशियन कंक्रिटो रहेका छन् । त्यस्तै प्रतियोगिताको ब्रट टु यु बाइ टाइटलमा किंग्स् इन्स्टिच्यूट र कोईला लाउञ्ज पोखरा रहेका छन् ।

दुई दिनसम्म चल्ने यो प्रतियोगिता गणेशटोलस्थित स्पोर्ट्स क्यासलमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: