तनहुँको व्यासमा घरमै धारा, अन्यत्र धाउनुपर्ने बाध्यता हटेपछि गृहिणी खुशी

Share:

दमौली – तनहुँको व्यास नगरपालिका–४ वेदव्यास टोलको माथिल्लो भेगका फूलमाया विकलाई सधैँ खानेपानीको पिरलो हुन्थ्यो । बिहान उठ्नेबित्तिकै खानेपानी जोहोका लागि उनले समय खर्च गर्नुपथ्र्यो । अब भने उनलाई खानेपानीको जोहो गर्ने चिन्ता हटेको छ ।

घरमै धारा जडानपछि खानेपानी खोज्दै अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएपछि उनमा छुट्टै खुशी छ । “घरमा धारा नहुँदा सोही वडाको बागभञ्ज्याङ नजिक रहेको कुवामा पानी लिनु जानुपर्ने बाध्यता थियो”, विकले भनिन्, “वडामा जनप्रतिनिधि आएपछि घरमै धारा जडान भएको छ ।”

स्थानीयवासी सम्झना थापाले खानेपानीको जोहोका लागि बिहानै डोको बोकेर कुवामा जानुपर्ने बाध्यताबाट मुक्ति मिल्दा खुशी लागेको बताइन् । “खानेपानीको जोहो गर्नुपर्दा बिहानको समय खेर गइरहेको थियो”, उनले भनिन्, “घरमै धारा जडानपछि अब बिहानीको समयमा घरको काम गर्न पनि सहज हुने भयो ।”

उक्त ठाउँमा खानेपानीको समस्या रहेपछि वडा कार्यालयले प्राथमिकता दिएर बजेट विनियोजन गरेको वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिए। यस ठाउँका १२ घरधुरीमा खानेपानी धारा जडानका लागि वडा कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ मा रु तीन लाख बजेट विनियोजन गरेको थियो ।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले रु आठ लाख सहयोग गरेको योजनामा स्थानीयवासीले रु ६० हजार बराबरको श्रमदान गरेका थिए । उक्त ठाउँका १२ घरधुरीमा घर–घरमै धारा जडान गरिएको छ ।

वडामा डिजिटल बडापत्र

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा डिजिटल बडापत्र स्थापना गरिएको छ । वडाबाट प्रदान गरिने सेवासुविधालाई प्रभावकारी बनाउन बडापत्र राखिएको हो । वडाबाट प्रदान हुने सेवा, सिफारिश, शुल्कलगायतका विषय बडापत्रमा समेटिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

पुरानो नागरिक बडापत्र सर्वसाधारणका लागि पढ्न गाह्रो भएकाले डिजिटल बडापत्र स्थापना गरिएको उनले बताए । सेवाप्रवाहलाई छिटोछरितो बनाउन र सेवाग्राहीले सहजै बुझ्ने वातावरण सिर्जनाका लागि डिजिटल बडापत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले जानकारी दिए ।

वडा कार्यालयले पहिलोपटक वडाको प्रोफाइलसमेत निर्माण गरेको छ । वडाका योजना व्यवस्थित बनाउन सहयोग पु¥याउने उद्देश्यले प्रोफाइल निर्माण गरिएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।

प्रोफाइलमा वडाको जनसङ्ख्या, रोजगार, बेरोजगार, उद्योगी, व्यवसायी, किसान, उत्पादन आदिको अभिलेखीकरण गरिएको छ । योजना बनाउने क्रममा वडा प्रोफाइललाई आधार मानेर अगाडि बढ्न सहयोग पुग्ने रेग्मीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: