
पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विमा नयाँ पक्की भवन निर्माण हुने भएको छ । सो भवनको आइतबार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिलान्यास गरेकी छन् ।
शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले २०७२ सालको भूकम्पले क्षति पुर्याएको विद्यालय भवनको पुननिर्माणमा प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताइन् । उनले क्षति भएका भवनहरुको प्रगति पनि उल्लेख्य रुपमा भैरहेको जानकारी दिइन् ।
‘शिक्षा क्षेत्रको आमुल परिवर्तन मात्र होईन, क्षतिग्रस्त विद्यालय भवनको पुननिर्माणमा पनि सरकार गम्भीर रुपले लागेको छ,’ मन्त्री पुनले भनिन् । मन्त्री पुनले सुरक्षित भवन र वातावरणमा बसेर अध्ययन गर्न पाउनुपर्ने बालबालिकाको नैसर्गिक अधिकार रहेको स्पष्ट पारिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेको तर शिक्षक दरबन्दी न्यून हुदाँ कठिनाई परेको उल्लेख गर्दै दरबन्दी थप गरिदिन मन्त्रीसँग आग्रह गरिन्। प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जोखिमयुक्त भवन भत्काएपछि भवनको थप समस्या परेपनि अब छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा विद्यालयका सूचना अधिकारी राम बहादुर बाँनियाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको सहयोगमा १ करोड ४० लाख रुपैंयाको लागतमा सो भवन निर्माण हुन लागेको हो ।
साउदी अरेबिया सरकारको आर्थिक सहयोग र प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको समन्वयमा निर्माण हुने पक्की भवन चैत मसान्तसम्ममा सम्पन्न गरिनेछ ।२०७२ साल वैशाख १२ गते गएको विनासकारी भुकम्पले विद्यालयको भवनलाई क्षति पुर्याएको थियो ।

