काठमाडौ, कार्तिक ६ – डिफेन्डिङ च्याम्पियन नेपाल आईसीसी डिभिजन ३ को पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको छ । मलेसियाको किन्रारा ओभेलमा भएको खेलमा टस जितेको नेपालले फिल्डिङ राजेको थियो । पूरा ५० ओभर खेलेर २०४ रनको लक्ष्य दिएको युगाण्डालाई पछ्याएको नेपालका व्याट्सम्यान जम्न सकेनन् ।
ओपनर मोहन बुढाएरले १२२ बल खेल्दै ६२ रन जोडे । सुबास खकुरेल २२ रनमा आउट भए । उनले ४३ बलमा २ चौकासहित २२ रन बनाएका हुन् । भरपर्दा व्याट्सम्यान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का समान १४ रनमा आउट भए । शरद भेषवाकर र सागर पुन पनि समान २२ रन बनाएर आउट भए । भेषवाकर ३१ बल र पुन २८ बल खेलेर पभेलियन फर्किएका हुन् ।
नेपालले १५ औं ओभरको पहिलो बलमा ओपनर खकुरेललाई गुमाएको थियो । नेपालको दोस्रो विकेट झार्न युगाण्डाले २८ ओभरसम्म कुर्नुपर्यो ।
युगाण्डाकाे लागि मासाबाले ८१ बल खैल्दै ५१ रन बनाए । युगाण्डाका लागि मुकोबेले सर्वाधिक ८४ रन बनाए । उनले १०२ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहायताले सेन्चुरी नजिक पुगेका हुन् । मुकोबे र मासाबाले १०० रनको पार्टनरसिप खेलेका थिए । नेपालको लागि पारस खड्काले ३, सोमपाल कार्मी र बसन्त रेग्मीले २-२ विकेट लिए । सागर पुनको नाममा १ विकेट रह्यो ।
युगाण्डाका अरिनेट्वेले नेपाली चार खेलाडीको विकेट लिए । मुकासाको नाममा ३ र सेवान्जाको नाममा २ विकेट रह्यो । सुरुवाति १५ ओभरमा ५ विकेट गुमाएको युगाण्डाको मध्यक्रमका व्याट्सम्यानले टिकेर खेल्दै रनरेट माथि पुर्याए ।
नेपालले दोस्रो खेल बर्मूडासँग खेल्नेछ । अर्को दुइ बर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त बन्न डिभिजन ३ प्रतियोगिता नेपालको लागि महत्वपूर्ण छ । डिभिजन ३ का शीर्ष दुई टिम डिभिजन २ मा बढूवा हुनेछन् । यो प्रतियोगिता आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप र आईसीसी इन्टरकन्टिनेन्टल कपको छनोटका रूपमा पनि रहेको छ । नेपालसहित डिभिजन-३ मा आयोजक मलेसिया, सिंगापुर, बर्मुडा, युगान्डा र अमेरिका खेल्दैछन् ।
