पोखरामा दुई वर्षपछि फेरि देखियो ‘सापु’ : समयमै उपचार नगराए आँखाको ज्योति गुम्ने खतरा

Share:

पोखरा । वर्ष बिराएर देखा पर्ने सापु रोग पोखरामा यस वर्ष देखा परेको छ । पछिल्लो पटक दुई वर्ष पहिला देखा परेको यो रोग अहिले भदौको दोस्रो साताबाट देखा पर्न थालेको हो ।

सेतो पुतलीको झुसका कारण आँखामा लाग्ने सापु रोगको समयमै उपचार नगराए आँखाको ज्योति गुम्न सक्ने चिकित्सकहरु बताउँछन् ।

हिमालय आँखा अस्पताल पोखराका प्रमुख निर्देशक डा. इन्द्रमान महर्जनका अनुसार शुक्रबारसम्म ९ जना बिरामी यो समस्या लिएर अस्पताल पुगेका छन् ।

‘अहिलेसम्म नौ जना हामी कहाँ आउनुभएको छ,’ उनले भने, ‘कसैको यही उपचार हुँदैछ, काठमाण्डौ जान्छु भन्नेलाई उतै पठाएका छौँ ।’

उनीहरु कसैको आँखामा सुई हालेर उपचार गरिएको छ भने कसैको शल्यक्रिया गरिएको छ । यस वर्ष चार दिनअघि पोखराको एक बैंकमा काम गर्ने २७ वर्षीय युवकमा पहिलोपटक सापु भेटिएको डा.महर्जनले बताए ।

आजभन्दा झण्डै ४४ वर्ष पहिले विसं २०३२ मा पोखरामा नै पहिलोपटक यो रोग देखा परेको थियो । त्यसबेला पोखराको लामाचौरमा यो रोग देखिएको थियो ।

आँखा रोग विशेषज्ञ डा. मदन उपाध्यायको टोलीले यस्तो रोग देखा परेपछि अध्ययन थालेको थियो । त्यसपछिको २० वर्ष कतै रोग देखा परेन । २० वर्ष हराएको रोग फेरि ०५७ साल तिर देखा पर्न थाल्यो ।

त्यसपछिका वर्षमा बिरामी बढे । शुरूमा ’ट्युमर’ भनिएको समस्यालाई पछि टोलीको अध्ययनले सिजनल हाईपरएक्युट पानुभिआइटिस (सापु) नाम दिएको हो ।

नामाकरण त गरियो तर देखा परेको चार दशक बित्दा पनि कारण अझै पत्ता लाग्न सकेको छैन् । यसरी रोग देखिएपनि कतिलाई यसको बारेमा थाहा पनि छैन् । गएको वर्ष मात्र २६ जना यो समस्या लिएर हिमालय आँखा अस्पताल पुगका थिए ।

लक्षण र बच्ने उपाय

डा. महर्जनका अनुसार यो रोग लागेपछि आँखा चिलाउने, दुख्ने, रातो हुने, उज्यालेमा हेर्न नमिल्ने, परेला सुनिन थाल्ने हुन्छ ।

यस्तै आँखाको नानीको बीच भागमा सेतो देखिने, चिप्रा नआउने, आँखाको दृष्टि कम हुँदै जाने लगायतका लक्षण पनि देखापर्ने उनले बताए ।हरेक रंगका पुतलीबाट यो रोग नसर्ने चिकित्सकहरु बताउँछन् ।

सेतो पुतलीबाट बच्नुनै यो रोगको प्रमुख निवारण हो । सकेसम्म सेतो पुतलीको सम्पर्कमा आउनु हुँदैन । यदि झुक्किएर यस्तो पुतली छोइयो भने तुरुन्त अस्पताल जानुपर्छ । यस्तो पुतली उज्यालो ठाउँमा मात्र आउँछ ।

रोगका लक्षण देखा परे २४ घण्टा भित्र अस्पताल पुग्नुपर्ने हुन्छ । ४८ घण्टा भित्र अस्पताल पुगे ५० प्रतिशत आँखाको ज्योति गुम्ने सम्भावना हुन्छ । र, त्यो भन्दा ढिला भए आँखाको ज्योति बचाउने सम्भावना निकै कम हुने डा. महर्जनले बताए ।

‘यस्तो प्रकारको पुतली उज्यालो ठाउँमा भेटिन्छ, सेतो बल्व, पर्दा र झ्यालमा यो बढी भेटिन्छ । त्यसैले उज्यालो नजिकै बस्दा बढी सचेत हुनुपर्छ ।’ डा. महर्जनले भने ।

कमेन्ट गर्नुहोस्
Share: