
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा गएको मंगलबार दिउँसो भएको घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयले नयाँ छानबिन समिति निर्माण गरेको छ । जिल्ला स्तरमा छानबिनका लागि निर्माण भएको समितिमा केही संशोधन गरेर गृह मन्त्रालयले शुक्रबार नयाँँ छानबिन समिति निर्माण गरेको हो ।
महान्यायाधिवक्ताको कार्यालयका उप–न्यायाधिवक्ता चन्द्रकुमार पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण गरिएको हो ।
समितिमा योजना, अनुगमन तथा प्रशासकीय अधिकृत डा.थानेश्वर भुषाल, गोसाइँकुण्ड–२ का वडाध्यक्ष दावा दोर्जे तामाङ, व्यवसायी कामी नुर्पु तामाङ र सहायक प्रजिअ सपनाकुमारी भट्टराईलाई सदस्य बनाइएको छ ।
समितिलाई सवारी धनी र मजदुरमाथि भएको दुर्व्यवहारबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ ।
सवारी धनी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर श्रेष्ठ र प्रहरी हवल्दार राम बहादुर स्याङतानलाई जिम्मेवारीविहीन बनाएर छानबिन सुरु गरिएको प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए ।
मंगलबार दिउँसो गलत ठाउँमा पार्किङ गरेको भन्दै प्रहरीले ना ६ ख ४९२५ कन्टेनरका धनी आशिष तामाङलाई कुटपिट गरेको थियो। तामाङलाई कुटेको भिडियो सार्वजनिक भएको थियो ।
