
बैतडी । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा शुक्रबार राति एक बालकको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका छोरा सात वर्षीय सुदीपको मृत्यु भएको हो।
शुक्रबार बेलुका साढे ७ बजेतिर आँगनमा खेलिरहेका बेला चितुवाले एक्कासी बालकलाई बोकेर बेपत्ता पारेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। बालक बेपत्ता पारेलगत्तै खोजतलास गरे पनि राति १० बजेतिर घरभन्दा करिब ५०० मिटर टाढा दक्षिणतिरको जंगलमा शव क्षतबिक्षत अवस्थामा फेला परेको प्रहरी निरीक्षक चन्दले बताए। अहिले बालकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भएको छ ।
चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका नागरिक त्रसित बनेका छन्। चितुवा प्रभावित क्षेत्रमा थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २०६८ साल यता २४ जनाको ज्यान गइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।
