
काठमाडौं । आज प्रथम जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइरालाको १०६ औँ जन्मजयन्ती । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कठोर संघर्ष पछि नेपालमा प्रजातन्त्रको स्थापना गरेका उनी नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक पनि हुन् ।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी भारत निर्वासनमै भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो।
प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो।
भारतमा निर्वा्सित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए। उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।
उनको नेपाली साहित्यका क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण योगदान छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका सुरु गरेका कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, जस्ता डेढ दर्जन कृति प्रकाशित छन्।
विसं १९७१ भदौ २४ गते जन्म भएका उनको क्यान्सर रोगका कारण विसं २०३९ साउन ६ गते निधन भएको थियो।
