गण्डकी विश्वविद्यालयको विषय गर्मिलो बन्दै, आवश्यकता छैन, जनताबाट उठाएको कर दुरुपयोग नहोस्—अध्यक्ष डा.थापा

Share:

अशोक विश्वकर्मा । गण्डकी प्रदेश सरकारले शुक्लागण्डकी नगरपालिका बेलचौतारामा निर्माण गर्ने भनिएको “गण्डकी विश्वविद्यालय”को विषयले अहिले चर्चा पाइरहेको छ ।

गत आर्थिक बर्षमा प्रा.डा गणेश बहादुर गुरुङ्ग संयोजक रहेको टोलीले तनहुँको बेलचौतारा स्थित भाुनभक्त बहुमुखी क्याम्पस भएको स्थानमा विश्वविद्यालय निर्माण गर्न उपयुक्त भएको प्रतिवेदन गण्डकी प्रदेश सरकारलाई बुझाएको थियो । सोही बमोजिम प्रदेश सरकारले विश्व विद्यालय निर्माणको काम सुरु गर्न भन्दै चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
यो अवस्थामा हाल भएको क्याम्पस सञ्चालक समितिले जग्गा उपलब्ध गराउन नसक्ने निर्णय गरेसँगै विश्वविद्यालय बन्ने वा नबन्ने भन्ने विषय गर्मिलो बनेको हो । प्रदेश सरकारले विश्वविद्यालय बनाउनका लागि बेलचौतारा नै उपयुक्त भएको भन्दै स्थानिय सरकारलाई सकरात्मक सहयोगको लागि अपिल गरेको छ ।

यता शुक्लागण्डकी नगरपालिकाले समेत विश्वविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्दै आवश्यक विवरण संकलन गर्ने कार्य सुरु गरिसकेको छ । तर क्याम्पस सञ्चालक समितिले भानुभक्त क्याम्पसको अस्तित्व मेटिने भन्दै जग्गा उपलब्ध गराउन नसक्ने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले प्राविधिविक विश्वविद्यालयको आवश्यकता नभएको भन्दै क्याम्पसको अस्तित्व मेटिने गरि जग्गा उपलब्ध गराउन नसकिने स्पष्ट पारे ।

“संघीय सरकार मातहतमा रहेको विश्वविद्यालयहरु चल्न सकेका छैनन्, प्रदेश सरकार मातहतको विश्वविद्यालय चल्छ ?” उनले प्रश्न गर्दै भने “यो विश्वविद्यालय हाम्रो आवश्यकताको विषय हैन, जग्गा पर्याप्त छैन भएको सिमित जग्गा दिन सक्दैनौ, भोलि क्याम्पसको अस्तित्व मासिदाँ दिने जवाफ हुदैन, विश्वविद्यालय आएपछि सिर्जना हुने समस्याहरुको विश्लेषण गरेर अघि बढनु पर्छ ।”

अध्यक्ष प्रा.डा. थापाले भानुभक्त क्याम्पसमा यहाँका जनताहरुको योगदान रहेको भन्दै प्रदेश सरकारले नागरिकहरुको योगदानलाई कदर नगरेको गुनासो गरे । “एकलौटी रुपमा समिति गठन गरेर आफुहरु मात्र विश्वविद्यालय बनाउन उपयुक्त छ भनेर हुदैन, हामीसँग सल्लाह भएको छैन, क्याम्पस सञ्चालक समितिसँग सल्लाह नै नगरि बनेको प्रतिवेदन बनाउने अधिकार गुरुङ्गलाई कस्ले दियो ?” उनले विश्व विद्यालय बनेपश्चात गरीव जनताको झण्डै ४ सय विद्यार्थी अध्ययन गर्ने अवस्था हराउने भन्दै चिन्ता ब्यक्त गरे । “यहाँका विद्यार्थी कहाँ लैजाने, विश्वविद्यालयले सुलभ रुपमा शिक्षा प्रदान गर्न असम्भव छ ।” थापाले भने ।

उनले विश्वविद्यालयका सानो बजेटले नबन्ने भन्दै जनताबाट उठाएको करलाई दुरुपयोग गर्ने खेलो प्रदेश सरकारको भएको समेत ठोकुवा गरे । “अरव होइन खरबौ बजेट कहाँबाट ल्याउने जनताले तिरेको करलाई भबिष्यनै नभएको विश्वविद्यालयलाई खर्चिनु गलत हो । थापाले भने ।
तनहुँको निर्वाचन क्षेत्र न २ क बाट निर्वाचित प्रदेश साँसद आशा कोइरालाले गण्डकी विश्व विद्यालय निर्माणको लागि काम अघि बढि सकेको जनाएकी छन् । उनले कार्यविधि निर्माणको काम अघि बढिसेकोले विश्वविद्यालय निर्माण हुनेमा ढुक्क हुन आग्रह गरेकी छन् ।

क्याम्पस सञ्चालक समितिले जग्गा उपलब्ध गराउन नसक्ने आसय सहितको पत्र शुक्लागण्डकी नगरपालिकामा पठाएपश्चात शुक्लागण्डकी नागरिक समाजले चासो ब्यक्त गरेको छ । गत सोमबार नागरिक समाजले नगरपालिकालकाकी उपप्रमुखलाई भेटेर जनताको चाहाना बमोजिम निर्णय लिन आग्रह गरेका थिए ।

यता विश्वविद्यालय कुनै पनि हालतमा बन्ने उपप्रमुख रसाइलीले बताएकी छन् । उनले सिमित ब्यक्तिहरुको असन्तुष्टीकारण विश्विद्यालय निर्माण कार्य नरोकिने भन्दै स्थानीय सरकार विश्वविद्यालय बन्ने पक्षमा कटिबद्ध भएर लागेको स्पष्ट पारिन् ।

कमेन्ट गर्नुहोस्
Share: