
काठमाडौँ । आज राष्ट्रिय बाल दिवस । “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।
दिवसका अवसरमा शुभकामा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई सरकारले प्राथमकितामा राखेको बताएका छन् ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य वार्षिक कार्यक्रम, अल्पअवधिको विषय वा कार्ययोजना मात्र होइन यो दीर्घकालीन राष्ट्रिय अभिष्ट भएको र यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक चाहिने बताएका छन् ।
‘यसका लागि आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।
उनले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्दै निरक्षरता विरुद्ध अभियान चलाउने क्रममा सरकारले बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको दावी समेत गरेका छन् ।
पढ्ने अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको उल्लेख गर्दै लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागू गरिएको समेत शुभकामनामा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीले सन्देशमा कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको पनि प्रष्ट पारेका छन् ।
