सार्क सम्मेलनमा तीन वटा सम्झौता हुने, जनकपुरमा मोदीको स्वागत मन्त्री निधीले गर्ने

276
0
Share:

काठमाडौं, कात्तिक १८\ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनमा तीन वटा सम्झौता हुने भएका छन् । सार्क सम्मेलनको तयारीका बारेमा जानकारी दिन परराष्ट्र मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले तीन वटा सम्झौतापत्रमा हस्ताक्षर हुने जानकारी दिनुभयो ।

SAARC countries flag

माल्दिभ्समा भएको १७ औं सार्क शिखर सम्मेलनले गरेको निर्देशन अनुसार तीन वटा विषयमा सम्झौता हुने भएको हो । परराष्ट्रमन्त्री पाण्डेका अनुसार सम्मेलनमा सार्क मोटर भेइकल, सार्क रेलवे र सार्क उर्जा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । सार्कको १८ औं शिखर सम्मेलन आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुँदैछ । परराष्ट्र मन्त्रालयले सम्मेलनमा अफगानिस्तान, भुटान र माल्दिभ्सबाट बढीमा २०/२० तथा अन्य सदस्य राष्ट्रबाट बढीमा ७०/७० जनासम्मको प्रतिनिधिमण्डले भाग लिने बताएको छ । सम्मेलनमा भाग लिने प्रतिनिधिमध्ये सबै सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखसहित ९१ जनालाई सरकारले आतिथ्यता उपलब्ध गराउने छ । सरकारी आतिथ्यता पाउने सबैलाई सोल्टी होटलमा राखिने परराष्ट्रमन्त्री पाण्डेले बताउनुभयो ।

सम्मेलनको उद्घाटन काठमाडौंको राष्ट्रिय सभागृहमा गरिने भएपनि सम्मेलनमा भाग लिने राष्ट्र प्रमुखहरुलाई रिट्रिटका लागि हेलिकोप्टरमार्फत धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा लैजाने सरकारको तयारी छ । परराष्ट्रमन्त्री पाण्डेले सम्मेलनका लागि १ सय ३२ वटा बुलेटपु्रफ गाडीको व्यवस्था गर्न लागिएको भन्दै २० वटा मन्त्रालयले खरिद् गर्ने र बाँकि भाडामा ल्याउने बताउनुभयो ।

शिखर सम्मेलनको सबै तयारीहरु अन्तिम चरणमा रहेको बताउदै नेपाली जनता, राजनीतिक दल, संचारकर्मी, सुरक्षा निकाय, कर्मचारी सबै मिलेर यसलाई सफल बनाउन पर्ने पनि उनले बताए । उनले शिखर सम्मेलनको सुरक्षा योजना, अतिथीहरुको ब्यवस्थापन, सम्मेलन केन्द्र, सडक र सवारीको बारेमा समेत जानकारी दिदै अव शिखर सम्मेलन सफलता पूर्वक सम्पन्न हुनेका शंका नरहेको बताए ।

जनकपुरमा मोदीको स्वागत मन्त्री निधीले गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा कसले स्वागत गर्ने भन्ने विषय टुंगो लागेको छ । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले स्वागत गर्ने भएका छन् । जनकपुरमा उनलाई गरिने अभिनन्दन तथा स्वागतका विभिन्न कार्यक्रममा मन्त्री निधी पनि सहभागी हुनेछन् । निधीको निर्वाचन क्षेत्र समेत रहेको कारण जनकपुरमा उनलाई स्वागत तथा त्यहाको ब्यवस्थापनको जिम्मेवारी सरकारले उनलाई तोकेको हो । सार्क सम्मेलनमा सहभागी हुन माेदी जनकपुर हुँदै अाउने सम्भावना छ ।

मोदी जनकपुर सडक मार्गबाट आउने विषय अझै टुंगो लागेको छैन् । तर उनलाई त्यहाँ भब्य स्वागत र नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी छोटो दुरी सडक मार्गमा आउने भए पनि उनको त्यो भ्रमण हवाई मार्गबाटै गर्नु पर्ने सुझाव सुरक्षा निकायको रहेकोले पनि त्यसमा अहिले नै निर्णय भने नहुने ति अधिकारीले बताए । काठमाडौंमा राष्ट्र तथा सरकार प्रमुखहरुलाई उपप्रधानमन्त्रीद्धय बामदेव गौतम र प्रकाशमान सिंहले पालै पालो स्वागत गर्ने छन तर बाहिर भने मन्त्री स्तरबाट नै स्वागत गर्ने बताइएको हो । प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलन स्थलमा नै स्वागत गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: