
काठमाडौं । आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।
आइतबार दिउँसो पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। तर साँझ छोडेको प्रहरीले राति फेरि शाहीलाई समातेर हिरासतमा राखेको हो।
अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले शाहीलाइ हिरासतमा राखिएको ललितपुर प्रहरीले जनाएको छ।
शाहीलगायतको समूहले शनिबार मन्त्री भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा दुर्व्यवहार गरेका थिए। मन्त्री भट्टराईका कारण विमान उड्न ढिलो भएको भन्दै विमानभित्रै उनीहरुले अभद्र व्यवहार गरेका थिए ।
