
पोखरा । नयाँगाउँ युवा क्लब पोखरा-१५ को आयोजनामा प्रथम नयाँगाउँ सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । असोज ३ गते (शुक्रबार) देखि ८ गतेसम्म सो प्रतियोगिता हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पर्यटकीय नगरी पोखरालाई खेलकुद सहरका रुपमा विकास गर्न सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष टोप बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता बन्ने टोलीले प्रथम पुरस्कार स्वरुप रु १ लाख १ हजार १ सय प्राप्त गर्ने छन् । यस्तै उपविजेता हुनेले रु ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले ५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३/३ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु आठ लाख खर्च लाग्ने र एक लाख बचत हुने क्लबको अनुमान छ । प्रतियोगिताबाट बचत हुने रकमलाई खेलकुद विकासमा खर्च गरिने क्लबका अध्यक्ष गुरुङले जानकारी दिए । रेन्बो एकेडेमी होम्सको खेल मैदानमा हुने प्रतियोगितामा ४० भन्दा बढी टिम सहभागी हुने अनुमान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं १५, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटबल संघ लगायतका संघसंस्थाको सहयोगमा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
