
पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्ने वातावरण सुधार हँदै गएको बताएका छन् । विभिन्न प्रतिवेदनले नेपालमा लगानीमैत्री वातावरण बनेको देखाएको बताउँदै उनले आर्थिक विकासको काम विस्तारै भइरहेको बताए ।
‘देशमा लगानी गर्ने वातावरण सुधार हँदै गएको छ,’ पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिक अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न संघसंस्थाका प्रतिवेदनले पनि नेपालमा आर्थिक विकासको काम विस्तारै भइरहेको देखाउँछ ।’
बैंकहरुको अस्वभाविक ब्याजका कारण व्यवसायीहरु मारमा परेको बताउँदै उनले त्यो समस्या समाधानका लागि सरकारले बैंकहरुसँग निरन्तर छलफल गरिरहेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले भने, ‘बैंकको ब्याजको विषय मैले धेरै पटक सुनेको छु, यो समस्या समाधान गर्न सरकार क्रियाशील छ ।’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसाय गर्न अग्रसर बने प्रदेश सरकारले लगानी गर्ने वातावरण बनाउने बताए । फेवाताल संरक्षणको विषयमा प्रदेश सरकार गम्भीर रहेको मन्त्री लम्सालको भनाइ थियो ।
उनले असोजदेखि पुस महिनासम्मको अवधिमा गण्डकी प्रदेशमा १५ लाख पर्यटक ल्याउने योजना रहेको सुनाए । भ्रष्टाचार नियन्त्रण गरेर लोकतन्त्रलाई बलियो बनाउने काममा प्रदेश सरकार योजना बनाएर लगाडि बढ्ने उनले जानकारी दिए ।
संघका पूर्वअध्यक्ष समेत रहेका गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले बैंकको चर्को ब्याजले व्यवसायी मर्कामा परेको बताए । उनले चुनाव ताका गरिएका घोषणा पूरा हुन नसकेको र व्यवसायीमैत्री वातावरण बन्न नसकेको भनाइ राखे ।
कोइरालालाई पिसिसीआई आर्थिक पत्रकारिता पुरस्कार
यस्तै पोखरा उद्योग वाणिज्य संघले युवा पत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ (पिसिसीआई) आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित गरेको छ ।
संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार योग्य प्रतिभा चयन उपसमितिले कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार कोइरालालाई शनिबार आयोजित संघको ६५ औं वार्षिक अधिवेशन समारोहमा समान गरिएको हो । प्रत्येक २ वर्षमा प्रदान गरिने पुरस्कारमा ३५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र रहेको छ ।
तस्बिर-सुदर्शन रञ्जितको फेसबुकबाट
