पोखरा घुम्न आएकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु

Share:

पोखरा । पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु भएको छ ।

पोखरा महानगर २२ को खाल्से चिसापानीको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर काभ्रकोे धुलिखेल नगरपालिकाकी २५ वर्षीया अनु भण्डारीको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले पुष्टि गरे ।

घुम्नका लागि अनुसहित करिब १० जनाको टोली भक्तपुरबाट पोखरा आएको डिएसपी शाहले बताए । ‘१० जनाको टोली पोखरा आएको भन्ने बुझिएको छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

मृतक भण्डारीसहित उनका केही साथी मंगलबार दिउँसो १ बजे पौडी खेल्न खोलामा पुगेका थिए । पोखरा घुम्न आएकी भण्डारी डुबेर बेपत्ता भएको खबर पाउना साथ प्रहरी खटिएको थियो । तर उनको सकुशल उद्धार भने हुन सकेन ।

यस्तै पौडी खेल्ने क्रममै डुबेकी अर्की एक युवती भने बच्न सफल भएकी छन् । भण्डारीसँगै आएकी पनौती नगरपालिकाकी २५ वर्षीया भावना बस्नेतको भने उद्धार गरिएको छ ।

प्रहरीका अनुसार पौडी खेल्न नजानेका उनीहरु सबै खोलामा पसेका थिए । केहीबेर छेउमा पौडिएपछि गहिरो भाग तर्फ पुग्दा उनीहरु डुबेका थिए । डुबेपछि अनु र भावनालाई उनका अरु साथीले बचाउने प्रयास गरे ।

भावनाको साथीहरुले उनको हात समातेर बचाए । अनु भने खोलामा रहेको जालीमा अड्किएकी थिइन् । पछि प्रहरीले अनुलाई खोलाबाट निकालेको थियो । उनको शव अहिले पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यस्तै बस्नेतको अहिले पोखरा १७ बिरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

तस्विर: लिलाधर पौडेल

कमेन्ट गर्नुहोस्
Share: