काठमाडौं,कार्तिक २२/ एमालेका पुर्व महासचिव माधव नेपाल अव पार्टी भित्र तेस्रो बरियतामा रहने भएका छन्। आजको केन्द्रिय समिति निर्णय अनुसार उनलाई तेस्रो स्थानमा राखिएको हो ।
केन्द्रिय समितिले झलनाथ खनाललाई दोस्रो र चौथोमा बामदेव गौतमलाई सम्मानको बरियतामा राख्ने निर्णय गरेको केन्द्रिय सदस्य सुर्य थापाले जानकारी दिए। नेपाललाई बरियता तोक्नुअघि पार्टी मुख्यालय बल्खुमै पदाधिकारी बैठक बसेको थियो।
बरियता टुंगो नलागेपछि तल्लो रोमा बसेका नेता नेपाल शनिबारको केन्द्रीय कमिटीमा भने अध्यक्ष ओलीसँगै बसेका थिए।
सात प्रदेशभन्दा बढिन्नः ओली
बैठकमा अध्यक्ष केपी ओलीले संविधान निर्माणबारे पछिल्लो विकास बारे पनि जानकारी गराएका थिए । बैठकमा केपी ओली संघीयताको विषयमा एमाले बढीमा सात प्रदेशमा अडिग रहेको बताएका थिए ।
शनिबार पार्टी केन्द्रीय समिति बैठकमा नेता ओलीले सात प्रदेशबाट घटाउन सकिने तर बढाउन नसक्ने बताए । ‘सात प्रदेशबाट बढाउने कुरालाई रुल आउट गर्नुपर्छ’ ओलीले भनेका छन्-‘धेरै प्रदेश मुलुक धान्न सक्दैन ।’ ओलीले सात प्रदेशबाट कम गर्ने हो भने एमाले छलफलका लागि तयार रहेको समेत बताएका छन् ।
बैठकमा उपाध्यक्ष भीम रावलले कांग्रेससहितका दलहरुसँग मिलेर बनाएको सात प्रदेश र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको नौंबुँदे साझा प्रस्तावबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका छन् ।
बैठकमा अध्यक्ष ओलीले सहमतिका लागि दलहरुबीच छलफल जारी रहेको बताए । उनले भनेका छन्-‘हामीले आफ्नो धारणा जनताका बीचमा लैजानुपर्छ भनेर सम्वाद समितिमा दर्ज गराइसकेका छौं ।’
एमाले बैठक मंसिर २२ गते बस्ने गरी स्थगित भएको छ । माघ ८ भित्र नषँ संविधान निर्माणका लागि दलहरुसँग छलफल गर्नु पर्ने भएकाले बैठक स्थगित गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

