कांग्रेस-एमालेले प्रचण्डलाई भने- थर्काउने बानी छाड्नुस्, प्रक्रियाबाट संविधान बनाउनु ‘बेइमानी’: प्रचण्ड

306
0
Share:

२३ कात्तिक, काठमाडौं / संविधानका विवादित विषयमा साझा प्रस्ताव तयार पारेका नेपाली कांग्रेस, एमालेसहितका चार दल र दुई स्वतन्त्र सभासदले आफहरुको नौंबुँदे प्रस्ताव संविधानसभामा लैजान माग गरेका छन् ।

कांग्रेस एमालेले आफूहरुले माओवादीलाई एक्लाउन नखोजेको स्पष्टीकरण दिँदै धम्कीको भाषा छाड्न एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । कांग्रेस, एमाले, राप्रपा, बहुजन समाजवादी पार्टी र दुई स्वतन्त्र सभासदले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै सम्वाद समितिमा पेश गरेको नौबुँदे साझा प्रस्तावबारे जानकारी दिएका छन् । सहमतिका लागि प्रस्ताव ल्याइएको भन्दै उनीहरुले यसबारे सम्वाद समितिमा छलफल गर्दा सहमति नभए संविधानसभामा लैजान माग गरे ।

एमाओवादी नेतृत्वका २२ दलले देशका विभिन्न शहरमा आमसभा गर्दै आन्दोलनको चेतावनी दिइरहेका बेला सत्तारुढ दलहरुको अर्को मोर्चाबन्दी भएपछि संविधान निर्माण प्रक्रिया झनै जटिल बन्ने देखिएको छ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अधयक्ष प्रचण्डको धम्क्याउने र थर्काउने बानीसँग कांग्रेस एमाले परिचित भइसकेकाले अब त्यो अस्त्र काम नलाग्ने बताए । ‘प्रचण्डजीको बानी ऊ भएपछि धम्क्याउने र थर्काउने खालको रहेछ, मैले अस्ति उ गर्नुस् भनिसकेको छु’ कोइरालाले भने-‘बाहिर बाहिर गएर थर्काउने, बिद्रोह गर्छु भन्ने काम बन्द गर्नुस् र संविधानसभामा बहस गर्नुस् भनेको छु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न ठाउँमा पुगेर मान्छे उचाल्ने काम नगर्न प्रचण्डलाई आग्रह गरेका छन् । उनले भने-‘पाँचथर पुगेर के भन्या छ । बाह्रविघा पुग्यो मान्छे उचाल्यो । यसले के परिणम ल्याउँछ ?’ आफूहरुले कसैलाई एक्ल्याउन नखोजेको भन्दै उनले भने-‘छाडेर हिड्ने प्रश्नै आउँदैन । सँगै लिएर जाने हो ।’

सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले त प्रस्तावमा हस्ताक्षर गर्दिन भनेका छन् नि भन्ने प्रश्नमा उनले भने-‘पद र जिम्मेवारीका कारण पनि संविधानसभामा लिएर जानुहुन्छ भन्ने विश्वास छ ।’ सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई सामान्य रुघाखोकी लागेको होला भन्दै एमाले अध्यक्ष ओलीले भट्टराई शारीरिक रुपमा मात्र बिरामी परेको भन्ने आफूलाई लागेको बताए ।

राजनीतिक संयन्त्रले संविधानका विवादित विषयमा छलफल गर्ने क्षेत्राधिकार नभएकाले आफूहरु बैठकमा नगएको उनले बताए ।कांग्रेस एमाले मोर्चामा राप्रपाका साथै विश्वेन्द्र पासवान नेतृत्वको बहुजन समाज पार्टी र स्वतन्त्र सभासदद्धय चन्द्रेश्वर झा र अहतर कमाल सामेल भएका छन् । तर सरकारमै रहेको नेकपा माले भने यसमा छैन ।

प्रक्रियाबाट संविधान बनाउनु ‘बेइमानी’: प्रचण्ड

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमतको दम्भमा प्रकृयाबाट संविधान जारी गर्न खोजिए मुलुक मुठभेडमा जाने चेतावनी दिएका छन् । एमाओवादी धनुषाले आइतबार जनपुरमा गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेस र एमालेले प्रकृयाबाट संविधान जारी गर्छु भन्नु वेइमानी हो । यस्तो वेइमानीविरुद्ध जस्तो सुकै लडाईं लड्न हामी तयार छौं ।’

अन्तरिम संविधानमा स्वीकार गरि सकिएको स्वायत मधेसको मुद्दाप्रति सत्ताधारी दल उदासीन रहेको आरोप लगाउँदै उनले भने, ‘मधेसवादी दलहरुसँग गिरिजाबाबूले गरेको सम्झौताको दुई साक्षीहरुमध्ये एउटा म पनि छु । अरु पार्टीले सम्झौता बिर्से जस्तो छ, तर मलाई स्मरण छ ।’

धनुषा क्षेत्र नम्बर- ४ का विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता आइतबार एमाओवादी प्रवेश गरेका थिए । उनीहरु अधिकांश निलम्बित सभासद सञ्जयकुमाार साह निकटका हुन् ।

सदभावना पार्टीबाट प्रत्यक्ष तर्फ विजयी एकमात्र सभासद साह रामानन्द चौक बम काण्ड सम्बन्धी मुद्दामा झण्डै छ महिनादेखि पुर्पक्षमा जेल सजाय काटिरहेका छन् । सदभावना पार्टीले निलम्बित सभासद साहलाई जोगाउन कुनै प्रयास नगरेको उल्लेख गर्दै उनका समर्थकहरु आक्रोशित थिए । एमाओवादी पोलिटव्युरो सदस्य रामचन्द्र झा तथा केन्द्रीय सदस्य रामचन्द्र मण्डलको प्रयासमा उनीहरु पार्टी प्रवेश गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले दुबै नेतालाई विशेष धन्यवाद दिएका थिए ।

दाहालले भने, ‘सञ्जय साहको मुद्दा अदालतमा चल्दै छ । विश्वास गरौं अदालतले सही फैसला गर्ने छ तर साहसहित उनका सखा सम्बन्धी तथा मतदाता समेतको सम्पति रोक्का गर्नु गलत हो ।’

एमाओवादी अध्यक्ष दाहालले निलम्बित सभासद साह, उनीसम्बद्ध कार्यकर्तासमेतको सम्पत्ति रोक्का गरिएको विषयलाई संसद र सडक दुबै मोर्चामा उठाउने प्रतिवद्धता व्यक्त गरे । श्रोतका अनुसार पुर्पक्षमा सिरहा जेलमा रहेका निलम्बित सभासद साहले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई एमाओवादी प्रवेश गर्ने सहमति दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: