
पोखरा । आगामी मंसिर १४ गते देशभर उपनिर्वाचन हुँदैछ । देशका अन्य ठाउँको तुलनामा कास्की-२ को उपनिर्वाचनलाई अझै महत्त्वका साथ हेरिएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनपछि रिक्त रहेको पदमा आउँदो मंसिर १४ गते उपनिर्वाचन गराउने गरी निर्वाचन आयोगले तयारी गरिरहेको छ ।
गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । त्यसयता कास्की २ रिक्त छ । कास्की-२ प्रतिनिधिसभाका लागि निर्वाचन हुने एक मात्र क्षेत्र हो । अहिलेसम्म उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो नलागे पनि उम्मेदवारको चर्चा भने भइरहेको छ ।
उपनिर्वाचन जित्ने योजनासहित राजनीतिक पार्टीहरु पनि आन्तरिक छलफलमा छन् । सम्भावित उम्मेदवारको चर्चा भइरहेका बेला सत्तारुढ नेकपाले भने कास्की २ को आगामी उपनिर्वाचन भारी मतले जित्ने दाबी गरेको छ । नेकपाले सो क्षेत्रमा गएको चुनाव ८ हजार ५ सय ४६ मतले जितेको थियो ।
उक्त चुनावमा नेकपाका रवीन्द्र अधिकारीले २७ हजार दुई सय सात मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । तर यसपटकको चुनावमा नेकपाले पछिल्लोपटकको भन्दा अझै ५ हजार मत थपिने बताएको छ । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बिहिबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
‘गएको पटक झण्डै ८ हजार ५ सय ४२ मतले जितेका थियौं, अबको चुनावमा त्यसमा ५ हजार मत थपिन्छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘नेकपाले १३ हजार ५ सय ४२ मत बढी ल्याउँछ ।’ उनले उपनिर्वाचनका लागि केन्द्रले नै उम्मेदवार खटाउने बताए । अध्यक्ष थापाले जनताले नै चाहेको र रोजेको उम्मेदवार उठाउने स्पष्ट पारेका छन् ।
‘चुनावमा जनताले चाहेको र खोजेकै उम्मेदवार उठाइने छ, केन्द्रले नै उम्मेदवारको टुङ्गा लगाउँछ,’ उनले भने, ‘हामीले कास्की २ का नेता कार्यकर्ताको विचार केन्द्रसम्म पु¥याउने काम मात्र गरेका छौं ।’ यस्तै पार्टीले दशैं पछि उम्मेदवारको टुङ्गो लगाउने भएको छ । आन्तरिक तयारी गरिरहेकाले कार्तिक पहिलो हप्ता भित्र उम्मेदवार टुङ्गो लगाइदिन केन्द्रसँग आग्रह गरिएको उनले जानकारी दिए ।
यसअघि नेकपाबाट बामदेव गौतमले कास्की–२ मा उपनिर्वाचन लड्ने चर्चा चलेको थियो । गत निर्वाचनमा बर्दिया १ मा काँग्रेस उम्मेद्वार सञ्जय गौतमसँग पराजित भएका उनले पछि चुनाव नलड्ने घोषणा गरेका थिए । नेता गौतमले उपनिर्वाचनमा नलड्ने घोषणा गरेपछि विद्या भट्टराई नै उठने चर्चा पनि छ । नेकपाका कति नेता विद्यालाई उठाउनुपर्ने पक्षमा पनि देखिन्छन् ।
यसबोहक पनि नेकपाबाट पुराना नेता सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, धनराज आचार्य, राजकाजी गुरुङलगायतको चर्चा छ ।
कांग्रेसमा पनि उम्मेदवारको चर्चा उत्तिकै छ । गत चुनावमा पराजित भएका देवराज चालिसे उम्मेदवारको चर्चामा छन् । उनी पछि धनराज गुरुङलाई हेरिएको छ । उपनिर्वाचनमा साझा पार्टी पनि जित्ने दाउमा छ ।
साझा पार्टीको टिकट रजनी केसीले पाउने लगभग पक्का नै छ । गएको भदौ अन्तिममा नेपाली कांग्रेस छाडेर साझा पार्टी प्रवेश गरेकी उनको उम्मेदवार बन्ने चर्चा छ । पार्टी संयोजक रवीन्द्र मिश्रको चर्चा पनि नचलेको भने होइन । तर केसी पार्टी प्रवेश गर्दा नै मिश्रले आफू नउठ्ने बताइसकेका छन् ।
फूलपातीका दिन नेकपा कास्कीको चियापान
नेकपा कास्कीको चियापान कार्यक्रम आउँदो शनिबार फूलपातीका दिन हुने भएको छ । दशैं, तिहार, नेपाल संवत, छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागिएको हो ।
सो कार्यक्रममा ५ हजार बढी सहभागि हुने अनुमान नेकपा कास्कीको छ । शनिबार हुने कार्यक्रम बारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्कीबाट जितेर केन्द्रमा रहेका मन्त्री र सांसद पनि सहभागि हुने जानकारी दिए ।
नेकपाले सो कार्यक्रममा सहभागि हुन कास्कीबासीलाई आग्रह पनि गरेको छ । चियापान कार्यक्रम असोज १८ गते बिहान ८ बजेदेखि पोखरा सभागृहमा हुनेछ । कार्यक्रममा नेकपाका गण्डकी प्रदेश ईञ्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङ, जिल्ला र महानगर कमिटीका नेता सहभागी हुने अध्यक्ष थापाले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकताका बाँकी काम चाँडै सक्ने जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुुार चियापानका लागि संघीय मन्त्रीसँग २० हजार रुपैयाँ, प्रतिनिधिसभामा निर्वा्चित कास्कीका सांसदबाट १० हजार, प्रदेश सांसदसँग ७ हजार, वडाध्यक्षसँग ३ हजार र वडा सदस्यसँग एक हजार रुपैयाँ सहयोग संकलन गरिएको छ ।
