
पोखरा । सशस्त्र प्रहरी बल नेपालले बडादशैंको टीकाको दिन मंगलबार पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सो सेवा दिन लागेको हो ।
बडादशैंको टीकाको दिन हुन सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका इन्सपेक्टर लीला बहादुर भुजेलले बिगखबरलाई जानकारी दिए ।
सशस्त्र प्रहरी बलको व्यानर सहितको दुई वटा बसले निशुल्क पोखराका विभिन्न क्षेत्रलाई रुट बनाएको छ । दुई वटा बस हल्लनचोकदेखि तालचोक रुटमा चल्ने उनले बताए ।
लामापाटनबाट बिहान ६ बजेपछि सर्वसाधारणको सेवाका लागि छुट्ने बस हल्लनचोक, जिरो किमि, सिर्जनाचोक, पृथ्वीचोक, बुद्धचोक, अमरसिंह, चाउथे, विजयपुर हँदै तालचोक पुग्नेछ ।
बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निशुल्क पानीसहितको बस चल्ने भुजेलले जानकारी दिए । सशस्त्रले गएका वर्षमा पनि दशैंका बेला निशुल्क बस सेवा दिँदै आएको छ ।
पोखरामा चाडपर्वका नाममा बढी भाडा लिने गरेको पाइन्छ । चाडपर्व भन्दै कति सवारीमा परिचय पत्रको छुट पनि दिँदैनन्। कास्की प्रहरीले भने कुनै पनि गाडीमा बढी भाडा मागेमा र परिचय पत्र छुट दिन आनाकानी गरे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
प्रहरी कन्ट्रोल रुम १००, कार्यालय प्रमुखको ९८५६००५५५५, प्रवक्ताको ९८५६०३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नं. १०३ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । प्रहरीले आइतबार बढि भाडा लिने ६ वटा सवारीलाई कारबाही गरेको थियो ।
यो पनि – पोखरामा बढी भाडा असुल्ने ६ वटा सवारी प्रहरी नियन्त्रणमा, बढी भाडा मागे खबर गर्न आग्रह
File Photo
