
काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने दुई विदेशी लिगमा ठुलो मुल्यमा अनुबन्धित भएका छन्। लामिछाने इंग्ल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ र युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगमा छनौट भएका हुन् ।
लामिछाने कर्नाटका टुसकेर्सबाट टी-१० क्रिकेट लिग खेल्ने भएका छन् । यस्तै उनी ‘द हन्ड्रेड’ लिगमा बर्मिङ्घम फिनिक्सबाट खेल्ने लगभग पक्का भएको छ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगका लागि जारी ड्राफ्टबाट लेग स्पिनर सन्दीपलाई कर्नाटकाले पहिलो चरणमा लिएको छ ।
विदेशी कोटामा अनुबन्धित भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पाउने छन् । सन्दीपको टिम कर्नाटकाको आईकोनिक खेलाडीमा दक्षिण अफ्रिकाका हसिम अमला रहेका छन् ।
सन्दीप हालै इंग्ल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका थिए । ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।
एक सय बलको हुने द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड रहेको छ । उनलाई बर्मिङ्घम फिनिक्सले नेपाली १ करोड ४३ लाखमा अनुबन्धन गर्न गईरहेको छ।
