
काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन देशभरका छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भीटामिन ए र जुकाको औषधी खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई निःशुल्क भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउँछन् । शनिबार खान छुटेकाहरुलाई आइतबार खुवाइने छ । स्वास्थ्य स्वयंसेविकाहरुले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने छन् ।
७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजना समेत रहेको स्वाथ्य सेवा विभागले जनाएको छ ।
भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित छन् ।
