सौराहामा रात्रिकालीन जिप सफारीको तयारी

341
0
Share:

चितवन । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी थालिएको छ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए।

रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उनको भनाई छ। ‘सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौँ’ उनले भने, ‘पहिलो चरणको स्थलगत निरीक्षण भइसकेको छ।’

रात्रिकालीन जीप सफारी नेपालमै पहिलो हो। सफारी हुने क्षेत्रको एकापट्टि मध्यवर्ती सामुदायिक वन र अर्कापट्टि निकुञ्ज क्षेत्र राप्ती नदी पर्छ। राप्ती नदीको किनारमा करीब चार घण्टाको जीप सफारी गर्न सकिने भट्टराईले बताए।

सौराहादेखि लोथरसम्म करीब ३० किलोमिटरको दूरी पर्छ। निकुञ्जमा पर्यटक घुमाउन प्रयोग हुने जीप प्रदूषणको मापदण्ड पूरा गरी हरियो स्टीकर टाँसेको हुनुपर्छ, कानूनी र भौतिक हिसाबले सुरक्षित हुनुपर्छ। निकुञ्जभित्र सकेसम्म विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्ने छ।

पछिल्लो समय निकुञ्जभित्र प्रवेश गर्ने सवारीसाधनमा निकुञ्जले ट्राकिङ डिभाइस जडान गरेको छ। डिभाइसमार्फत कुन गाडी कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी निकुञ्जको कार्यालयमै बसेर हेर्न सकिन्छ ।

विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जीप सफारीका लागि पर्यटक सौराहा आउने गरेका छन्। साना तथा ठूला १५० होटल र ८० रेष्टुराँ रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ।

गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: