
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदै छन्। असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन उनी अजरबैजानको राजधानी बाकु जान लागेका हुन् ।
प्रधानमन्त्री ओली आज बिहान पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ । भोलिदेखि दुईदिन सम्म बाकुमा हुने उक्त सम्मेलनमा असंलग्न आन्दोलन (नाम) राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले पर्सी शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नाम आन्दोलन कुनै गुट र समूहमा आबद्ध नभएका देशहरुको समूह हो। यो समूहमा १ सय २० देश आवद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन्। दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने छन्।
