
अशोक विश्वकर्मा, तनहुँ । तनहुँको भानु नगरपालिका ७ मा रहेको थानि माई मन्दिरमा आउने भक्तजनहरुको भिड बढ्न थालेको छ । श्रावण महिना बाहेक प्रत्येक महिनाको पहिलो मंगलबार मन्दिरमा विशेष पुजाआजा हुने यस मन्दिरमा पछिल्लो समयमा भक्तजनहरुको भिड बढ्न थालेको हो ।
मन्दिरमा गत मंगलबार देशका विभिन्न स्थानबाट आएका हजारौ भक्तजनले पुजाआजा गरेको छन् । विशेष गरि सत्यनारायण पुजाको विसर्जन गर्नका लागि फुलका डोली सहित थानिमाई मन्दिरमा पुग्नेहरु अत्याधिक रहेको मन्दिर ब्यवस्थापन समितिका सविच हर्क थापाले बताए । थापाले मंगलबार तनहुँ सहित, लमजुङ्ग, गोर्खा, कास्की, नवलपरासी लगायतका स्थानबाट ६५ डोली सहित भक्तजनहरु आएको जानकारी दिए । मंगलबार मात्र ५ हजार भन्दा बढीले मन्दिरमा पुजा अर्चना गरेका छन् ।
यता मन्दिरमा आउने दर्शनार्थीहरुको भिड बढ्न थालेपछि मन्दिरको प्रचार अझै गन नसकिएको सोही वडा न वडाध्यक्ष रामकृष्ण देवकोटाले बताए । उनले मन्दिर ब्यवस्थापन समितिसँग पत्रकारहरुलाई बोलाएर थप प्रचार गर्ने र मन्दिरको भौतिक पूर्वाधारमा विकास गर्ने योजनामा आफूहरु रहेको जानकारी दिए ।
यस मन्दिरमा सन्तान प्राप्ती, हराएका परिवारका सदस्य फेला पार्न, जागिर खान लगायतका भाकल सहित देशका विभिन्न स्थानबाट भक्तजनहरु पुग्ने गरेका छन् । मन्दिर जिल्लाको डुम्रेबजार स्थित पृथ्वीराज मार्गबाट १८ किलोमिटरको दुरीमा रहेको छ ।
झण्डै ४५० बर्ष अघि भानुनगरपालिकाको वडा न ७ स्थित कोटथोकमा एकजना महिला र बच्चा हाल मन्दिररहेको स्थानमा बास बसेको र सोही रात भयानक आँधीबेहेरीले जनधनको क्षती भएको जानकारहरु बताउँछन् । सोही स्थानका स्थानीय मानसिं पाटा मगरको सपनामा मन्दिर बनाएर पुजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना पश्चात समस्या समाधान भएको किंवदन्ती रहेको छ ।
