
पोखरा । तमु धिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सँस्कृति संरक्षणका लागि तीनदिने लाछाडोरी बनाउने तालिम विहिवार समपन्न भएको छ। पोखरा महानगरपालिका, वडा नं.९ वडा कार्यालयको सहयोगमा आयोजित तालिममा क्षत्रिय तमु समाजका ३६ जना तमु आमाहरुको सहभागीता रहेको थियो।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामराज लामिछाने, विशेष अतिथिहरु वडा सदस्य नन्दराम गिरी र वडा सदस्य गीता चर्मकारले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । यसरी नै तालिमका प्रमुख प्रशिक्षक आशकासी गुरुङ र प्रशिक्षक बिना गुरुङलाई प्रसंसापत्रद्वारा सम्मान गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुलाई तमु धिं नेपाल केन्द्रीय आमा समितिले तालिममा सहभागीहरुले तयार पारेको लाछाडोरी मायाको चिनोको रुपमा उपहार प्रदान गरिएको थियो।
प्रमुख अतिथि वडाध्यक्ष लामिछानेले तमु धिं नेपाल केन्द्रीय आमा समितिद्वारा आयोजित तालिमहरु अति नै प्रभावकारी तथा उपलब्धिमुलक हुने गरेकाले वडाका तर्फबाट वर्षेनी सक्दो सहयोग गरेको बताए । लाछाडोरी तालिमका लागि बजेट कम भए पनि आमाहरुलाई उद्यमशील बनाउन र सँस्कृतिक जगेर्नामा जागरुक बनाएको उनको भनाई थियो। तालिममा सिकेका ज्ञानलाई उद्यमशीलतमा विकास गराउदै उत्पादित सामग्रीको बजारीकरणमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो। वडाध्यक्ष लामिछानेले वडाले सहयोग निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गर्नुहुदै पोखरा महानगरपालिकाका उपमेयर र मेयरसँग महिलाहरुलाई उद्यमशीलताका लागि बजेट भएकाले आफु पनि तमु आमाहरुका लागि महानगरमा पहल गर्न तयार रहेको बताए ।
तालिममा सहभागी चिउली पार्चे तमु समाजकी विष्णु गुरुङ र कोल्मा बहाकोट तमु समाजकी कृष्णकुमारी गुरुङले तालिम अत्यन्तै उपलब्धिमुलक, प्रभावकारी भए पनि तालिम अवधि र बजेट कमिले चाहे जति सक्ने अवसर प्राप्त नभएकाले आगामी कार्यक्रममा बजेट बृद्धिका लागि वडाध्यक्षसँग माग गरे ।
स्वस्तिक हस्तकला उद्योगकी संचालक सिता गुरुङले तालिममा सिकेका सिप उद्यमशिलतामा विकास गराउन आग्रह गर्दै तमु आमाहरुको सिप विकासका लागि वडा नं. ९ कार्यालयबाट सधै सकरात्मक सहयोग प्राप्त भएको भन्दै अन्य वडाहरुले पनि महिलाको क्षमता विकास तथा उद्यमशीलता विकासका लागि सहयोग गर्नुपर्ने बताए ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिकी कार्यवाहक अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा मुख्य प्रशिक्षक आशकासी गुरुङ, प्रशिक्षक बिना गुरुङले तालिमको आवाश्यकता र प्रशिक्षार्थीहरुले आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा चर्चा गर्नुभएको थियो भने द्धितिय उपाध्यक्ष पवित्रा गुरुङले स्वागत र महासचिव एनशोभा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

