
पोखरा । साझा पार्टीले तिहारको अवसर पारेर चुनाव लक्षित देउसी भैलो कार्यक्रमलाई अगाडी बढाएको छ । पार्टीले संस्कृतिको जगेर्नासहित सो देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।
चुनाव नजिकिँदै गएकाले पनि जनतासँग जोडिन देउसी भैलो कार्यक्रम प्रभावकारी बनिरहेको कार्यक्रम संयोजक फडिन्द्र मोहन कँडेलले जानकारी दिए । ‘तिहारमा खेलिने देउसी भैलोको संस्कृति जगेर्ना गर्ने उद्देशयले देउसी भैलो खेलिरहेका छौँ,’ उनले भने, ‘नजिकिदै गरेको उपनिर्वाचनका लागि जनतासँग जोडिने राम्रो माध्यम पनि बनेको छ ।’
पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर २ का लागि उम्मेदवार घोषित भइसकेकी रजनी के.सी पनि कार्यक्रममा सहभागि छन । उनले पनि कास्की २ का जनता साझा पार्टी प्रति निकै सकरात्मक रहेको बताइन् । ‘भ्रष्टाचार विरुद्ध आवाज उठाएकोमा यस क्षेत्रका जनता हामीप्रति सकरात्मक रहेको मैले पाएँ, तिहारको शुभकामना दिँदै हामी जनतामाझ जोडिएका छौं ।’
सामान्य देउसी भैलो कार्यक्रममा पनि जनताको उत्साहजनक सहभागिताले थप उर्जा थपेको उनले बताइन । ‘हामीले कुनै कोण सभा गरेका होइनौं, जनतालाई शुभकामना मात्र दिन आएका हौं, ’ उम्मेदवार के.सीले भनिन्, ‘जनताले पनि विकल्पको खोजी गरेको जस्तो महशुस ग¥यौं ।’
पार्टीले शनिबारदेखि शुरु गरेको देउसी भैलो कार्यक्रम सोमबार पनि जारी रहने कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए । उनले आगामी उपनिर्वाचनका लागि अर्थ संकलन गर्न देउसी भैलो कार्यक्रममको आयोजना गरिएको उनले बताए । ‘चुनावमा खर्च गर्न हामीसँग त्यस्ता अनधिकृत स्रोत छैन, चुनाव खर्च जुटाउनका लागि हामी यसरी देउसी भैलो कार्यक्रम गरिरहेका छौं, ’ उनले भने ।
उनले चुनावमा सीमित नेता कार्यकर्तामार्फत जनताको घरदैलोमा पुग्ने बताए । पार्टीले शनिबार सिर्जनाचोक, महेनद्रपुल, चिप्लेढुङ्गा, लामाचौर, जैमुरेलगायतका ठाउँमा सो कार्यक्रम गरेको थियो । यस्तै आइतबार बागमारा, निर्मलपोखरी, भरतपोखरी, महतगौंडालगायतका ठाउँमा देउसी भैलो कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।



